धरान उपमहानगरको २ अर्ब २० करोडको बजेट सार्वजनिक, शिक्षा–पूर्वाधारलाई उच्च प्राथमिकता

धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । शनिबार १७ औँ नगरसभामा उपप्रमुख अइन्द्रविक्रम बेघाले नीति–कार्यक्रमसहित बजेट प्रस्तुत गरे ।

बजेटका अनुसार आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारको अनुदानबाट ८९ करोड २९ लाख, प्रदेश सरकारको अनुदानबाट सात करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट दुई करोड र गत वर्षको मौज्दातबाट सात करोड रुपियाँ जुट्ने अनुमान गरिएको छ ।

विनियोजनमा सहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदका लागि ४६ करोड ८५ लाख, स्वास्थ्यका लागि छ करोड ९९ लाख ९५ हजार, सामाजिक विकासका लागि चार करोड ८६ लाख ४५ हजार राखिएको छ । आर्थिक विकासमा एक करोड २९ लाख, वन–वातावरण, ऊर्जा तथा विपत् व्यवस्थापनमा दुई करोड ७४ लाख ५० हजार, कानुन तथा न्यायसम्पादनमा २० लाख, सार्वजनिक जग्गा संरक्षणमा १५ लाख, राजस्व परिचालनमा ४३ लाख र नगर भिजन कार्यक्रमका लागि पाँच करोड पाँच लाख रुपियाँ छुट्याइएको छ ।

२० वटै वडाका लागि २१ करोड रुपियाँ विनियोजन गरिएको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास र विपत् व्यवस्थापनलाई यस वर्ष प्राथमिकता दिइने उपमहानगरले जनाएको छ ।

उपमहानगरका प्रमुख, उपप्रमुख र अन्य जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण बजेट निर्धारित समयमा प्रस्तुत हुन नसकेको भए पनि अन्ततः नगरसभाले पारित गरेपछि धरानको आर्थिक वर्ष २०८२/८३ को विकास योजनामा स्पष्ट दिशा तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *