इतिहासमै पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा, झलनाथले भने: धेरै दुःखद घटना

काठमाडौँ । नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नेपालमाथिको मुद्दालाई एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अत्यन्त दुःखद भनेर प्रतिक्रिया दिए । ‘यो घटनाबारे भर्खर सुनियो, यसबारेमा पार्टीभित्र पनि कुनै छलफल भएको छैन, घटनाक्रमको समग्र जानकारी पनि प्राप्त भैसकेको छैन । तर घटना धेरै दुःखद छ’, खनालले भने, ‘यसबारेमा सबै तथ्य बुझेर मात्र प्रतिक्रिया दिनु उपयुक्त छ ।’

उनले नेपालको इतिहासमै पहिलो पटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दायर भएको घटनालाई सामान्य रूपमा लिन नहुने बताए । ‘के भएको हो ? कसो हो ? पूर्वाग्रह हो वा अन्य केही छ तर पूर्व प्रधानमन्त्रीमाथि मुद्दा लागेको घटना नेपालकै इतिहासमा यो पहिलो हो’, खनालले भने, ‘विषय बडो गम्भीर हो । यस्ता कुरामा हचुवामा टिका टिप्पणी गर्नु राम्रो होइन ।’

नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । सरकारबाट हदबन्दी छुटमा पाएको उक्त जग्गा पछि मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *