पुर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रश्न: झलनाथ पत्नी प्रा. रविलक्ष्मीको अपराध के थियो ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र कुमार राईले जेन–जी आन्दोलनको क्रममा भएको आगजनीमा गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी पत्नी प्रा. रविलक्ष्मी चित्रकारमाथि गरिएको आक्रमणलाई घोर आपराधिक कृत्य भएको बताएका छन्।

राईले भावुक हुँदै प्रश्न उठाएका छन् – “प्रा. रविलक्ष्मीको अपराध के थियो? उहाँ पञ्चायतकालीन कठिन घडीमा भूमिगत भई आन्दोलनमा सक्रिय जाज्वल्यमान नेतृ हुनुभयो। पछि परिवार चलाउन दुबै जना राजनीतिमा सक्रिय हुन सम्भव नभएपछि राजनीतिबाट अलग भई प्राध्यापन जस्तो पवित्र पेशामा लाग्नुभयो। श्रीमान शक्तिशाली पदमा हुँदा पनि गुमनाम जीवन रुचाउनुभयो। न त शक्ति प्रयोग गर्न खोज्नुभयो, न त गलत बाटो रोज्नुभयो।”

उनले स्मरण गरे, “नेता झलनाथ खनाल छोटो समय प्रधानमन्त्री भए, मन्त्री भए, तर कहिल्यै भ्रष्टाचारमा जोडिएनन्। प्रतिष्ठानले सर्पपालन वा एन्टिभेन्डम अभियानसंग जोडेर बदनाम गर्न खोजिएको भए पनि त्यसमा उहाँको प्रत्यक्ष संलग्नता थिएन। नाम जोडिएको आधारमा दोष देखाउने हो भने मदन भण्डारी मार्गमा भएको भ्रष्टाचारका आधारमा स्व. मदन भण्डारीलाई भ्रष्टाचारी भन्नु जस्तै हास्यास्पद हुन्छ।”

राईले पुराना दलका केही मान्छेले गल्ती गरेको भन्दै निर्दोषको घर जलाउने प्रवृत्तिलाई कडा शब्दमा आलोचना गर्दै भने, “वर्षौदेखि राजनीति बाहिर रहनुभएकी एक सम्मानित प्राध्यापक, नेतृलाई जिउँदै जलाउने काम जघन्य अपराध हो। सरकारले जेनजी प्रदर्शनकारीमाथि जसरी निहत्था जनतामाथि गोली चलायो, त्यस्तै बर्बर काम यो हो।”

उनी भन्छन् – “जेनजीका साथीहरू अहिले मात्र ओलीको ज्यादतीविरुद्ध उठेका हुन्। तर हामी झलनाथ, माधवलगायत नेताहरूले वर्षौंअघि देखि नै संघर्ष गरिरहेका छौँ। रगत, परिश्रम, जीवन र जवानी खर्च गरेर बनाएको पार्टीसम्म त्यागेर पीडामय बाटो रोजेका हौँ।”

राईले अन्त्यमा प्रा. रविलक्ष्मी चित्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनलाई गरिएको आक्रमणलाई “मानवता र राजनीतिक मर्यादामाथि धक्का” भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *