काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको छ ।
२०७९ को निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीलाई ठगीसम्बन्धी मुद्दा आइलागेको हो ।
समाजवादीका उपमहासचिवसमेत रहेका चौधरीविरुद्ध बैंकिङ कसुरसम्बन्धी आरोपसहित जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको छ ।
पूर्वमन्त्रीसमेत रहेका उनीविरुद्ध एभरेष्ट बैंकबाट भुक्तानी गर्ने गरि काटिएको ५ करोड ४० लाख रुपैयाँको चेक अनादरमा मुद्दा प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सांसद चौधरीविरुद्ध हुलाकमार्फत् चेक अनादरसम्बधी जाहेरी आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुन तिमल्सिनाले बताएका छन् ।
उनीविरुद्ध रोल्पाका एकजना मगर थरका ठेकेदारले हुलाकबाट प्रहरीमा जाहेरी दर्ता गराएका हुन् । स्रोतका अनुसार सहरी विकास मन्त्री भएको समयमा उनले ठेक्कासहितको योजना मिलाइदिने भन्दै रकम लिएका थिए ।
तर, उनले भनेअनुसार काम र योजना नमिलेपछि व्यवासयीले रकम फिर्ता माग गरेका थिए । त्यहीक्रममा चौधरीले रकम फिर्ताका लागि काटेको चेक नै साटिएन । उक्त चेकबाट रकम ननिस्केपछि चौधरीविरुद्ध उजुरी परेको हो ।