काठमाडौं। वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकलाई पुर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको छ ।
खनालले रसिकको निधनप्रति अत्यन्त दुखित र स्तब्ध बनाएको बताउनुभएको छ । उहाँले आजै एक शोक विज्ञप्ति निकाल्दै यस दुखद निधनको क्षणमा वहाँ प्रति हार्दिक तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै, वहाँका शोकाकुल परिवारजनमा र सम्पूर्ण शोक सन्तब्ध प्राज्ञजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

खनालले लेख्नुभएको छ :
‘नेपालका प्रसिद्ध साहित्यकार,गायक एंव संगीतकार तथा मेरा आत्मिय मित्र श्री गणेश रसिकको ७८ वर्षको उमेरमा निधन भएको खबरले मलाई अत्यन्त दुखित र स्तब्ध बनाएको छ । म सर्वप्रथम वहाँको यस दुखद निधनको क्षणमा वहाँ प्रति हार्दिक तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, वहाँका शोकाकुल परिवार जनमा र सम्पूर्ण शोक सन्तब्ध प्राज्ञजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
मैले केहि समय अघि मात्र वहाँको निवासमै गएर भेटेको थिएँ । वहाँसँग वँहाको जीबन र साहित्यको क्षेत्रमा लामो कुरा भएको थियो । वास्तवमा श्री गणेश रसिक वास्तविक रुपमा नेपालको गायन,संगीत र साहित्य क्षेत्रको ज्ञानका रत्न नै हुनुहुन्थ्यो । वँहा आफ्नो जीबनको युवाकाल देखि नै यहि क्षेत्रमा साधनारत हुनुहुन्थ्यो । वहाँले नेपाली साहित्य,गायन एंव संगीतको बिकासमा महत्वपूर्ण योगदानहरु गर्नुभएको छ । वँहाले क्षितिजलाई छुन खोज्दा (कथा संग्रह), एउटा सारङ्गी छुन खोज्दा (कथा संग्रह ),रसिकका गीतहरू (गीत संग्रह ) आकाश गंगाको ओतमुनी (उपन्यास), जब सिस्नुहरू टेक्दै हिँडे (संस्मरण), बिलाउँदै गएका गीत (कथा संग्रह), दशगजामा उभिएर हेर्दा उपन्यास, स्वाधिनताको पीडा (गीत संग्रह) पेरुङ्गो संस्करण (पाँच कृति) जस्ता महत्वपूर्ण साहित्यिक कृतिहरू रचना गर्नुभएको छ । वहाँको निधनमा मुलुकले, नेपाली साहित्य, गायक एंव संगीतको क्षेत्रले र हामी सबैले एक मुर्धन्य प्राज्ञिक नक्षत्रलाई गुमाएका छौं ।
आदरणीय गणेश रसिकका योगदानहरू नेपालको कला साहित्य क्षेत्रमा दुरगामी महत्वका छन । तिनीहरू हाम्रा बीचमा अविस्मरणीय कृतित्वका रुपमा रहिरहनेछन र तिनीहरूले सम्बन्धित क्षेत्रमा वर्तमान र भावि पुस्तालाई मार्गदर्शन पनि गरिरहने छन् । तिनै कृतिहरूमा श्री गणेश रसिक सदा सदा बाँची रहनुहुनेछ । अन्त्यमा, दिबंगत श्री गणेश रसिकलाई फेरि पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र वहाँका सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’
रसिकको ललितपुरको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो निधन भएको थियो ।
