पूर्वप्रधानमन्त्री खनाल पत्नी रविलक्ष्मीको देब्रे हातको सल्यक्रिया सम्पन्न : निमोनिया संक्रमण थपियो

काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंको डल्लुस्थित पूर्वप्रधानमन्त्री झलनाथ खनालको घरमा भएको आगजनीमा गम्भीर घाइते भएकी उनकी पत्नी रविलक्ष्मी चित्रकारको देबे हातको कुहिनामुनी शल्यक्रिया गरेर काटिएको छ । जलेर शरीरमा थप संक्रमण फैलिने जोखिम देखिएपछि चिकित्सकले हात फाल्नुपरेको खनालको निजी सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार ७० वर्षीया चित्रकार कीर्तिपुरस्थित बर्न अस्पतालको इन्टेन्सिभ केयर युनिट (आइसियु)मा गम्भीर अवस्थामा उपचाररत छन्। चिकित्सकको प्रारम्भिक मूल्यांकन अनुसार उनको शरीर करिब १७ प्रतिशत जलेको छ र आजदेखि निमोनियासमेत देखिएको छ।

हाललाई यहीँ उपचार जारी राख्ने निर्णय गरिएको र अन्यत्र सार्नुपर्ने अवस्था नरहेको सचिवालयले जनाएको छ। ‘आइसियुमा उपचार भइरहेको छ, चेतना भने छ तर बोल्न सक्ने अवस्था छैन,’ सचिवालयले बताएको छ।

जेनजी समूहको आन्दोलनका क्रममा भदौ २४ गते खनालको डल्लुस्थित घरमा आगजनी भएको थियो। त्यही दिनदेखि चित्रकारको निरन्तर उपचार भइरहेको छ। चिकित्सकले कति समयसम्म उपचार आवश्यक पर्छ भन्नेबारे भने अहिलेसम्म निश्चित अनुमान गर्न सकेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *