काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएका नागरिकको उपचार र दीर्घकालीन स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकारले विशेष पहल थालेको छ। गृह मन्त्रालयले सोमबारदेखि घाइतेहरूलाई विशेष परिचयपत्र वितरण सुरु गरेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौंका अस्पतालमै पुगेर घाइतेलाई भेट्दै यो अभियानको औपचारिक शुभारम्भ गरे।
मन्त्रालयको निर्णयअनुसार घाइतेको उपचार र फलोअपलाई व्यवस्थित गर्न देशभर १६ अस्पतालमा डेडिकेटेड जेनजी क्लिनिक स्थापना गरिएको छ। यी क्लिनिकले उपचार, नियमित स्वास्थ्य परीक्षण र परामर्श सेवा निःशुल्क उपलब्ध गराउनेछन्। साथै, अस्पतालसम्म निःशुल्क आवतजावतको सुविधा र प्रत्येक क्लिनिकमा फोकल व्यक्ति तोकिएको छ।
काठमाडौं उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पतालमा जेनजी क्लिनिक सञ्चालनमा छन्। प्रदेशगत रूपमा कोशीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, मधेशमा नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरी, बागमतीमा भरतपुर अस्पताल, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, र सुदूरपश्चिममा डडेलधुरा अस्पताल तथा गेटा अस्पताल धनगढीमा क्लिनिक स्थापना भएका छन्।
गृह मन्त्रालयका अनुसार यी क्लिनिकमार्फत जेनजी आन्दोलनका घाइतेहरूलाई दीर्घकालीन स्वास्थ्य सुरक्षासँगै आवश्यक सेवा र उपचार सहज रुपमा प्राप्त हुने व्यवस्था गरिएको छ।
