नेपालका चाडपर्व हाम्रो पहिचान मात्र होइन, जीवनको उत्सव पनि हुन्। मेरा हजुरआमाले भन्नुहुन्थ्यो – नागपञ्चमी आउँदै गर्दा ठूला पर्वहरूको श्रृंखला सुरु हुन्छ। त्यसपछि जनैपूर्णिमा, तीज, दशैँ, तिहार, छठ… यस्तै गरी महिनौँसम्म हाम्रो घर–घरमा उत्सवको रौनक छाउँछ।
यस समयमा हामी ठूला मानिसहरू व्यस्त हुन्छौँ । घर सफा गर्न, पाहुनाको तयारी गर्न, पूजाआजा गर्न, नयाँ कपडा किनमेल गर्न। तर प्रश्न उठ्छ, यी तयारीको भीडमा साना बालबालिकाको भूमिका के हुन्छ ?
बालबालिका र पर्वको वास्तविकता
चाडपर्व सुरु भएपछि विद्यालय बिदा हुन्छन्, साथीभाइ टाढा पर्छन्, दैनिकीको तालिका भत्किन्छ। घरमा कामको भीड बढ्छ, अभिभावक व्यस्त हुन्छन्। यस्तै अवस्थामा बालबालिका कहिलेकाहीँ “बेकार” ठानिन्छन्, वा मोबाइल–टेलिभिजनको भरमा बसालिन्छन्।
तर बाल्यकाल भनेको सिकाइ, जिज्ञासा, खोज र अनुभवको महत्वपूर्ण चरण हो। यस्तो समयमा उनीहरूलाई बेवास्ता गर्नु वा “अलग्गै” राख्नु उनीहरूको भावनात्मक र सामाजिक विकासका लागि हानिकारक हुन सक्छ।
सम्भावना र अवसर
पर्व भनेको केवल पूजा वा परम्परा मात्र होइन, सानो नानीका लागि पनि जीवनभरको सम्झना बन्न सक्ने अवसर हो। यस समयमा:
- उनीहरूले परिवारसँग घनिष्ठता अनुभव गर्छन्।
- संस्कृतिको अर्थ बुझ्न पाउँछन्।
- परम्परागत गीत, नृत्य, खाना र रीतिरिवाज सिक्छन्।
- स–साना जिम्मेवारी पूरा गरेर आत्मसम्मान बढ्छ।
के गर्ने ?
१. गुणस्तरीय समय दिनुहोस् – दैनिक केही मिनेट भए पनि नानीसँग कुरा गर्नुहोस्, तिनका प्रश्न सुन्नुहोस्।
२. स–साना जिम्मेवारी दिनुहोस् – फूल सुम्पिन, मिठाई सजाउन, दियो बाल्न सहयोग गर्न लगाउनुहोस्।
३. जिज्ञासा सम्बोधन गर्नुहोस् – “किन टीका लगाइन्छ?”, “किन दीयो बालिन्छ?” भन्ने प्रश्नलाई सरल भाषामा जवाफ दिनुहोस्।
४. रूटिन कायम राख्नुहोस् – खेल्ने, खाने, सुत्ने समय केही हदसम्म मिलाएर राख्दा नानीहरू सुरक्षित महसुस गर्छन्।
५. सहभागी बनाउनुहोस् – दिदी–भाइसँगै घर सजाउने, पिङ खेल्ने वा आफ्नै शैलीमा पर्व मनाउन दिनुहोस्।
पर्व हाम्रो संस्कृतिको गर्व हो, तर त्यो पर्वलाई बालबालिकाका लागि पनि रमाइलो र सिकाइको अवसर बनाउनु हाम्रो जिम्मेवारी हो।
“हामी व्यस्त हुन्छौँ, पर्वमा रमाउँछौँ,
तर नानीहरूको बालपनलाई नहराऔँ।
झिलिमिली दियोसँगै, मुस्कान पनि टल्कियोस्,
हाम्रो पर्वसँगै, उनीहरूको बालपन पनि चम्कियोस्। ”
रति शर्मा

प्रारम्भिक बाल विकास विशेषज्ञ