काठमाडौं । राप्रपाबाट काठमाडौं क्षेत्र नं. ३ का प्रतिनिधि सभा सांसद उम्मेदवार डा. सुन्दर सिंह बोहोरा ले आफू नक्कली डाक्टर नभएको स्पष्ट पार्दै योग्यता र योगदानको आधारमै जनताको मत मागेको बताएका छन्।
आज राष्ट्रिय संचार क्लवमा पत्रकारसँगको अन्तर्क्रियामा बोल्दै डा. बोहोराले विगत चार वर्षदेखि पूर्वाधार विकास, ढल व्यवस्थापन तथा निःशुल्क शिक्षामा सक्रिय योगदान दिँदै आएको दाबी गरे । पत्रकारले लेख र भिडियोमार्फत देशको भविष्य निर्माणमा भूमिका खेल्ने उल्लेख गर्दै उनले आफ्नो जितप्रति पूर्ण रूपमा ढुक्क रहेको बताए ।
लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता जनाउँदै उनले भने , “यदि राजाको जस्तो शासन भयो भने म स्वयं ‘मुर्दाबाद’ भन्छु।” नामकै भरमा चुनाव जितिन्छ भन्ने सोच गलत रहेको बताउँदै जनसम्पर्क, अध्ययन, कानुनको ज्ञान र नीति–नियम निर्माण गर्ने क्षमता अनिवार्य हुने धारणा राखे ।
डा. बोहोराले भदौ २३–२४ पछि आम नागरिकले परिवर्तन चाहेको उल्लेख गर्दै आफू त्यही परिवर्तनको प्रतिनिधि भएको जिकिर गरे।
सिंहदरबार जलेको समयमा केही नेताहरू डरले बाहिर ननिस्किएको आरोप लगाउँदै उनले नेतृत्वको साहसिक भूमिकामाथि प्रश्न उठाए।
यसै क्रममा उनले रवि लामिछाने र हर्क साम्पाङ दुवै नजित्ने दाबी गर्दै केपी शर्मा ओलीले २४ गतेको आन्दोलनमा गोली चलाउन आदेश दिएको कारण आफू सो पार्टीमा नगएको स्पष्ट पारे।
शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै डा. बोहोराले आफ्नो क्षेत्रमा रहेका विद्यार्थीलाई ५० प्रतिशत सेवा–सुविधा दिने योजना सार्वजनिक गरे। आफू पिएच.डी. होल्डर भएको प्रमाणित गर्न सर्टिफिकेट बोकेर हिँड्ने गरेको उल्लेख गर्दै योग्यतामाथि उठ्ने प्रश्नको प्रमाणसहित जवाफ दिन तयार रहेको बताए ।
उनले रवि बालेन र हर्क साम्पाङमध्ये हर्क साम्पाङ उत्कृष्ट भएको मूल्यांकन गरे। नीति निर्माण, सुशासन र स्थानीय विकासलाई केन्द्रमा राखेर अघि बढ्ने बताउँदै डा. बोहोराले मतदातालाई सचेत भएर योग्य उम्मेदवार छनोट गर्न आग्रह गरेका छन् ।
