बहुमत दिए सुशासन र सामाजिक न्याय सुनिश्चित गर्छौँ : माधवकुमार नेपाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले सुशासन, सामाजिक न्याय र भ्रष्टाचारमुक्त शासन स्थापनाका लागि आफ्नो पार्टीलाई निर्वाचनमार्फत बहुमत दिन जनतासँग आग्रह गरेका छन्।

नेकपाको बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वयद्वारा आयोजित प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले विगतका कमजोरीलाई आत्मालोचना गर्दै सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेकपा भ्रष्टाचार अन्त्य र इमानदार शासन प्रणाली निर्माणमा दृढतापूर्वक उभिने बताए।

“हामीले विगतमा खेलेको भूमिकाको निष्पक्ष मूल्याङ्कन गर्नुस्,” सहसंयोजक नेपालले भने, “नराम्रोलाई नराम्रो र राम्रोलाई राम्रो भनेर छुट्याउनुस्। त्यसलाई स्वीकार्न हामी तयार छौँ।”
उनले आगामी निर्वाचनमार्फत जनताले नेकपालाई बहुमत दिए जनअपेक्षा पूरा गर्न इमान्दारिताका साथ अघि बढ्ने विश्वास दिलाए। “देशभक्ति, इमानदार राजनीति र जनसेवाको भावनालाई केन्द्रमा राखेर हामीले अहिलेसम्म भूमिका निर्वाह गर्दै आएका छौँ,” उनले भने, “आगामी दिनमा अझ जिम्मेवार र सचेत भएर अघि बढ्नेछौँ।”

सहसंयोजक नेपालले जेनजी पुस्ताको भावना सुशासन, भ्रष्टाचार अन्त्य र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै नेकपा पनि यस्ता विषयमा निरन्तर संघर्षरत रहेको बताए। सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रवृत्तिको
पार्टीले सधैं विरोध गर्दै आएको उनको भनाइ थियो। “सुशासनको पक्षमा हामीले तत्कालीन सरकार प्रमुखलाई मागपत्र बुझाएका थियौँ र आवाज बुलन्द गरेका छौँ,” उनले भने, “त्यसै कारण आज जेनजी पुस्ता नेकपाप्रति आकर्षित भएको छ। त्यो विश्वासलाई कुठाराघात हुन दिँदैनौँ।”

कार्यक्रममा नेकपाका नेता राजेन्द्र श्रेष्ठले निर्धारित समयमै निर्वाचन हुनुपर्नेमा जोड दिँदै संविधान संशोधनमार्फत जनताको अपेक्षा सम्बोधन गर्न पार्टीलाई मत दिन आग्रह गरे।

नेत्री जयपुरी घर्तीले जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई उल्ट्याएर मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने कुनै पनि प्रयासलाई नेकपाले सफल हुन नदिने स्पष्ट पारिन्। जेनजी प्रतिनिधि तथा विद्यार्थी नेता भूमिराज अधिकारीले जेनजी पुस्ताको आवाज नेकपाले नै सम्बोधन गर्ने विश्वास व्यक्त गरे।

सभामा जनवादी कलाकारहरूले नेपालको राजनीतिक परिवर्तन, सामाजिक–आर्थिक रूपान्तरणमा नेकपाले खेलेको भूमिका र आगामी कार्यदिशासम्बन्धी गीत–संगीत प्रस्तुत गरेका थिए। सभाअघि नेकपाले काठमाडौँका विभिन्न चोकबाट र्‍याली समेत निकालेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *