काठमाडौं । भदौ २३ र २४ मा भएको ‘जेन–जी आन्दोलन’पछि मुलुकको सत्ता समीकरण फेरिने संकेत देखिँदैछ । सामाजिक अभियन्ता ईःईः का अनुसार, अहिले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) पक्षको प्रयासले प्रधानमन्त्रीको कुर्सीमै हलचल ल्याउन सक्छ ।
ईःईःले हालको राजनीतिक उथलपुथल र नयाँ सरकार गठनका अदृश्य खेलहरूबारे विश्लेषण गर्दै बालेनलाई प्रधानमन्त्री बनाउने प्रारम्भिक योजना सुरु भए पनि परिस्थितिको जटिलताले त्यो सम्भव नभएको बताएका छन् । उनका अनुसार, सुरुमा बालेनलाई अघि सार्ने तयारी भए पनि संकट गहिरिँदा उनी पछि हटे । त्यसपछि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीको नाम पनि सम्भावित प्रधानमन्त्रीका रूपमा अघि सारिएको थियो ।
ईःईःले गृहमन्त्री अर्यालले विधिसम्मत तर अडिग दृष्टिकोण लिँदै सशक्त भूमिका खेलेको बताउँदै, अहिले पनि उनलाई हटाएर महानगर प्रहरी प्रमुख राजु पाण्डे वा मीरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन पक्ष सक्रिय रहेको खुलाएका छन् ।
“गृहमन्त्री कमजोर भए प्रधानमन्त्रीको पनि अवस्था बदलिन सक्छ,” उनले भनेका छन्, “यहाँ भूराजनीतिक र आन्तरिक शक्ति प्रतिस्पर्धा तीव्र छ ।”
उनले भदौ २३–२४ का घटनामा दोषीहरूलाई कानुनी रूपमा कारबाही गर्नुपर्ने र समयमै निर्वाचन गरेर राजनीतिक स्थायित्व ल्याउनुपर्नेमा जोड दिएका छन् । अभियन्ताको भनाइमा, व्यक्तिगत स्वार्थका लागि रगत बगाउने राजनीति देशको दीर्घकालीन हितमा छैन ।
