काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले माओवादीसँग पार्टी एकता गर्ने निर्णयप्रति तीव्र असहमति जनाउँदै नयाँ राजनीतिक शक्ति निर्माण गर्ने संकेत दिएका छन्।
खानालले पार्टी बैठकमा आफूलाई बोल्नै नदिई, अध्यक्ष माधवकुमार नेपालको एकतर्फी निर्णय थोपारिएको आरोप लगाए। उनले भने, “हामीलाई बोल्ने मौका दिइएन, सर्वसम्मत भनेर झुट प्रचार गरियो। मैले ३० बुँदामा फरक मत राखेको छु।”
खनालका अनुसार माओवादीसँग एकताको विपक्षमा करिब सयभन्दा बढी नेता र कार्यकर्ता उभिएका छन्। “उहाँहरू माओवादीसँग जानुहुन्छ भने कानुनी रूपमा मिले यही पार्टी अघि बढाउँछौँ, नमिले नयाँ पार्टी बनाउँछौँ,” उनले स्पष्ट गरे।
अध्यक्ष नेपालको तानाशाही व्यवहारले पार्टीभित्रको असन्तोष विस्फोट भएको बताउँदै खनालले अब विचार र आचरणमा सच्चा समाजवादी धारको निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार, नयाँ दलमा सिद्धान्तमा अडिग र व्यवहारमा इमानदार नयाँ पुस्तालाई समेट्ने तयारी अघि बढ्दैछ।
खनालको यो घोषणा नेपाली वाम राजनीतिमा नयाँ मोडको संकेतका रूपमा हेरिएको छ।
