काठमाडौँ-४ मा डा. अर्चन शमशेर राणाको निःशुल्क स्वास्थ्य सेवा र धार्मिक पर्यटन विकासको एजेन्डासहित स्वतन्त्र उम्मेदवारी

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका वरिष्ठ मृगौला रोग विशेषज्ञ तथा समाजसेवी डा. अर्चनशम्शेर राणाले स्वास्थ्य र पर्यटनलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

शनिबार राजधानीको अनामनगरस्थित राष्ट्रिय प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा डा. राणाले आफू निर्वाचित भए सबै नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालजस्तो मुलुकमा निःशुल्क स्वास्थ्य सेवा सम्भव रहेको उल्लेख गर्दै स्वास्थ्य सेवा राज्यको आधारभूत दायित्व भएको बताए। “राजनीतिक इच्छाशक्ति भएमा निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयन गर्न सकिन्छ,” उनले भने।

डा. राणाका अनुसार संघीयता तथा प्रादेशिक संरचनाको पुनरावलोकन, राष्ट्रहितविपरीत भएका सन्धि, नीति र सम्झौताको पुनःमूल्यांकन तथा हिन्दु, बौद्ध र किराँत धर्मको संरक्षण उनका प्रमुख कार्यसूचीमा छन्। दुई दशकदेखि चिकित्सा पेशामा क्रियाशील रहँदै आएका उनले विज्ञता र अनुभव नभएका व्यक्तिहरूले स्वास्थ्य मन्त्रालय सम्हाल्दा मुलुकको स्वास्थ्य प्रणाली कमजोर बनेको दाबी गरे।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–४ का मतदाताले आफूलाई विश्वास गर्नेमा आशावादी रहेको डा. राणाले बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएको उदाहरण दिँदै उनले आफू पनि ठूला दलभन्दा वैकल्पिक र सक्षम उम्मेदवारका रूपमा प्रस्तुत भएको जिकिर गरे।

डा. राणाले काठमाडौँ–४ लाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। पशुपतिनाथ, बुढानिलकण्ठ, गुहेश्वरीलगायत धार्मिक तथा विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरू यही क्षेत्रमा रहेकाले धार्मिक पर्यटनका लागि यो क्षेत्र अत्यन्तै सम्भावनायुक्त रहेको उनको भनाइ छ। उनको चुनाव चिन्ह ‘सिरिन्ज’ रहेको छ।

यस निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौँ–४ छोडेर सर्लाही–४ बाट उम्मेदवारी दिएपछि यहाँ नयाँ राजनीतिक समीकरण बनेको हो। कांग्रेसले यहाँ ३३ वर्षीय सचिन तिमल्सेनालाई उम्मेदवार बनाएको छ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेकपा एमालेबाट राजन भट्टराई तथा नेपाली कम्युनिस्ट पार्टीबाट इन्द्रकुमार भुसाल पनि प्रतिस्पर्धामा छन्।

आफू यही क्षेत्रको माटोमा हुर्किएको, दुई दशकदेखि चिकित्सा पेशामा समर्पित रहँदै आएको र संसद्मा जनताको आवाज प्रभावकारी रूपमा उठाउन सक्ने क्षमताका कारण मतदाताले विश्वास गर्ने डा. राणाको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *