काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आइतबार डल्लुस्थित खनाल निवासमा भेटघाट गरेका छन्।
श्रेष्ठ र खनालबीच वाम एकताको सम्भावनाबारे लामो संवाद भएको हो।
खनालको सचिवालयका अनुसार भेटघाटको क्रममा विशेषगरी नेपालको कम्युनिष्ट आन्दोलनमा पछिल्लो अवस्थामा देखिएको विग्रह, कम्युनिस्ट आन्दोलनलाई कसरी एकताबद्ध गर्न सकिन्छ, देशमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेको अवस्थामा अब वैज्ञानिक समाजवाद प्राप्तिका लागि कार्यनीति र बाटाहरू के हुन सक्छन् भन्ने विषयमा विस्तृत छलफल भएको थियो।
‘कसरी कम्युनिस्टहरूलाई एकताबद्ध गराएर अगाडि लान सकिन्छ भन्नेबारे कुरा भएको छ,’ खनालका स्वकीय सचिव कृष्ण भट्टराईको भनाइ छ, ‘राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति बडो जटिलका साथ अगाडि बढिरहेको छ, त्यसैले छलफल ती विषयहरूमा विशेष केन्द्रित भयो।’ भट्टराईले भने ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भेटमा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकताको प्रसंग उठाए पनि खनालले आफू समग्र वामपन्थी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन्। खनालले भने, ‘आजको आवश्यकता भनेको दुई दल मात्र होइन, सबै कम्युनिस्टलाई मिलाउनु हो।’
भट्टराईका अनुसार यो छलफललाई प्रारम्भिक भनिएको छ र यसलाई निरन्तर अगाडि बढाउने सहमति भएको छ। ‘पार्टीको एकताको विषयमा कुनै ठोस छलफल भएन, ‘कुराकानी समग्र वाम आन्दोलनको सन्दर्भमा मात्र सीमित रह्यो, कुनै विशेष पार्टीबीचको एकताको विषयमा भने छलफल भएन।’भट्टराईले भने ।