माओवादीसँग एकता होइन, समाजवादी पार्टी पुनर्गठनको पक्षमा उभिए झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र)सँग अघि बढाएको एकताको छलफलप्रति विमति जनाएका छन् । सञ्चार माध्यममा खनालसमेत सहमत भएको भन्दै आएका समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ ।

खनालका प्रेस सहयोगी मिलन उपाध्यायले बताएअनुसार खनाल माओवादीसँग एकता होइन, पार्टी पुनर्गठनकै पक्षमा छन् । ‘मैले कमरेड झलनाथ खनालसँग प्रत्यक्ष फोन सम्पर्क गरेको थिएँ’, उपाध्यायले भनेका छन्, ‘नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नै पुनर्गठन र सुदृढीकरण गरेर समाजवादको यात्रामा अगाडि बढाउनुपर्छ भन्ने विश्वासमा उहाँ अडिग रहनुभएको छ ।’

खनाल यतिबेला पत्नी रविलक्ष्मी चित्रकारको उपचारका क्रममा भारतको दिल्लीमा छन् । खनालले दिल्लीमै रहेको बखत असोज २६ मा पनि आफ्नो धारणा सार्वजनिक गरेका थिए । उनले विज्ञप्ति नै जारी गरी अन्यसँग एकताभन्दा पार्टीलाई पुनर्गठन र सुदृढीकरण गर्नुपर्ने धारणा राखेका थिए ।

तर, शुक्रवार एकाएक एकताको विषय टुंग्गिएको र खनाल पनि सहमत भएको विषय बाहिरिएपछि उनले सचिवालयमार्फत खण्डन गरेका हुन् ।

यसैबिच, पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । कात्तिक १२ मा बोलाइएको बैठकमा असहमतिहरूबारे छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *