काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनर्गठनको घोषणा गरेका छन् ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको कारणले संगठन विभाजित भएको आरोप लगाउँदै खनालले अब पार्टी विलय होइन, पुनर्गठनमार्फत नयाँ राजनीतिक यात्रा सुरु हुने बताएका हुन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा लाग्न आह्वान गरे ।
खनालले भने, ‘कोही पनि साथीले आत्तिनु पर्दैन, कतै गएर विलय वा प्रवेश गर्नुपर्ने आवश्यकता छैन । स्वाभिमानका साथ ठिङ्ग उभिएर नयाँ पार्टी पुनर्गठनको अभियानमा लागौँ ।’
इतिहासमा मालेबाट एमाले निर्माण भएको प्रसङ्ग स्मरण गर्दै उनले अब एकीकृत समाजवादीको ‘क्रान्तिकारी धारको लेगेसी’ लाई पुनःजागृत गर्दै नयाँ पार्टी निर्माण गर्ने बताए । उनका अनुसार नयाँ पार्टी नयाँ कार्यदिशा, नीति र सिद्धान्तका साथ अघि बढ्नेछ ।
‘हाम्रो लक्ष्य सुन्दर, स्वतन्त्र र समृद्ध नेपाल निर्माण गर्नु हो, जहाँ वर्ग, जातीय, भाषिक र धार्मिक भेद नहोस्, ‘खनालले भने, ‘त्यो सपना साकार पार्न नयाँ पार्टी आवश्यक भएको छ ।’
नेकपा (एकीकृत समाजवादी) विभाजनपछि खनालले पहिलो पटक औपचारिक रूपमा पुनर्गठनको घोषणा गर्दै नयाँ जनमुखी र स्वाधीन पार्टी निर्माण गर्ने संकल्प सार्वजनिक गरेका छन् ।
