२०२६ लाई एकता र रूपान्तरणको वर्ष बनाऔँ : झलनाथ खनाल

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नयाँ वर्ष २०२६ को अवसरमा राष्ट्रिय एकता, निष्पक्ष निर्वाचन र समाजवादतर्फको यात्रालाई समयको प्रमुख आवश्यकता भएको बताएका छन् ।

नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै खनालले विश्वव्यापी शक्ति सन्तुलन तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै पुरानो पश्चिमा प्रभुत्वमा आधारित विश्व व्यवस्था क्रमशः विघटनतर्फ उन्मुख भएको बताए । न्याय र समानतामा आधारित नयाँ विश्व व्यवस्थाको उदयले नेपालजस्ता देशहरूमा पनि गहिरो प्रभाव पारिरहेको उनको भनाइ छ ।

खनालले नेपाल अहिले दिशाहीनता, कुशासन, भ्रष्टाचार, बेरोजगारी र युवाको व्यापक पलायनका कारण गम्भीर सामाजिक–आर्थिक संकटमा फसेको उल्लेख गरे । त्यसै क्रममा ‘जेन्जी आन्दोलन’का नाममा भएका तोडफोड, आगजानी र विध्वंसले मुलुकलाई झनै अस्थिर बनाएको उनको ठहर छ ।

उनले वर्तमान परिस्थितिबाट निकासका लागि नयाँ निर्वाचन अपरिहार्य भए पनि शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि आवश्यक पूर्वाधार अझै पर्याप्त नभएको बताए । निर्वाचनसँगै संविधान परिमार्जन, शिक्षा–स्वास्थ्यमा रूपान्तरण, सुशासन स्थापना, भ्रष्टाचार अन्त्य, राष्ट्रियता सुदृढीकरण र युवाका लागि रोजगारी सिर्जना जस्ता मुद्दा समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

खनालले यी सबै लक्ष्य हासिल गर्न कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, देशभक्त तथा लोकतान्त्रिक शक्तिहरूबीच व्यापक राष्ट्रिय एकता अनिवार्य रहेको बताए । यही उद्देश्यले १७ वटा वाम समूहलाई एकताबद्ध गरी नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको जानकारी दिँदै उनले कार्यगत एकता र वाममोर्चाको बाटो खुला रहेको स्पष्ट पारे ।

अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र तिनका आन्तरिक दलालहरूले नेपाललाई अस्थिर बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै खनालले नेपाली जनता सचेत र एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *