नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको हालको अस्थिर राजनीतिक अवस्थाको जिम्मा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिए ।
पार्टीको अन्तरपार्टी निर्देशन (अपानी) मार्फत् उनले स्मरण गरे – २०७४ को आम निर्वाचनपछि करिब दुईतिहाइ बहुमतसहित बनेको ओलीको एकल सरकारले आर्थिक–सामाजिक रूपान्तरणका ठूला योजना बनाएर तीव्र गतिमा विकास–निर्माण गर्न सक्ने अवस्था थियो, तर त्यसमा ओली असफल भए ।
नेपालका अनुसार ओलीले २०५१ मा मनमोहन अधिकारी नेतृत्वको अल्पमत सरकारले गरेको जति काम पनि नगरी उल्टै पार्टीको नीति र निर्देशन नमानी प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चाले, जसबाट मुलुक आन्तरिक विवाद, पार्टी विभाजन र राजनीतिक अस्थिरतामा फस्यो ।
सामाजिक सञ्जाललाई कानुनमार्फत नियमन गर्नुको सट्टा आदेशद्वारा बन्द गर्ने निर्णयले जेन–जी पुस्तामा आक्रोश पैदा भएको उनले बताए । “त्यो आक्रोश शान्त पार्ने पहल नगरी कठोर दमन गरिँदा विध्वंस मच्चियो र जनधनको ठूलो क्षति भयो,” नेपालको भनाइ छ ।