काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) भित्रको आन्तरिक कलह सतहमा आएको छ । पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालबीचको तीव्र आरोप-प्रत्यारोपले पार्टीभित्र गहिरो सङ्कटको सङ्केत गरेको छ । खनालले नेपालको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै उनलाई ‘तानाशाह’ बन्न खोजेको गम्भीर आरोप लगाएका छन् । यता नेपालले खनाललाई पार्टी छोड्नसमेत भनेका छन् ।
विवादको सुरुवात खनालले नेकपा (एमाले) बाट विद्रोह गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेपछि भएको हो । झलनाथ खनालले हालै एक टेलिभिजन अन्तर्वार्तामा नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका थिए ।
खनालको यो अभिव्यक्तिप्रति आक्रोशित बनेका अध्यक्ष नेपालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनाललाई लक्षित गरेर भने,’यस्तो बोलेको हो भने पार्टीमा बस्ने नैतिक अधिकार छैन, पार्टी छोडेर जान सक्छन् ।’
नेपालको यो अभिव्यक्तिपछि खनालले नेपालको भनाइलाई ‘अशोभनीय, गैरजिम्मेवार र तानाशाही प्रवृत्तिको’ भएको बताए । खनालले पार्टीको नेतृत्व गर्ने व्यक्तिले अर्को नेतालाई बोल्ने भाषा नबोलेको भन्दै नेपालको आलोचना गरेका हुन् । उनले आफ्नो कुरामा चित्त नबुझेको हो भने पार्टी बैठक बोलाएर छलफल गर्न सकिने वा व्यक्तिगत रूपमा सोध्न सकिने बताएका छन् ।
खनालले सार्वजनिक रूपमा आदेश दिनु र पार्टी छोड्न भन्नु सरासर तानाशाही भएको प्रतिक्रिया दिएका छन् । खनालले पार्टीभित्र रचनात्मक आलोचना र बहसको ढोका बन्द गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरे । उनले पार्टीको विद्रोहको औचित्य पुष्टि भएन, जनताको काम गर्न सकिएन भन्दा पार्टी छोडेर जा भन्ने भन्दै नेपाललाई प्रश्न समेत गरेका छन् ।
उनले पार्टी नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने र जनताको अपेक्षा पूरा गर्नतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । यो विवादले नेकपा (एकीकृत समाजवादी) को आन्तरिक एकता र भविष्यको बाटोबारे गम्भीर प्रश्न उठाएको छ । खनालको असन्तुष्टि र नेपालको जवाफले पार्टीभित्रको अन्तरसंघर्षलाई उजागर गरेको छ । साथै, नेकपा (एकीकृत समाजवादी) लाई एकजुट भएर अगाडि बढ्न चुनौती थपिएको छ ।