काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै जेन–जि (Gen Z) पुस्ताका युवामाथि सरकारले गरेको दमनप्रति कडा आपत्ति जनाउँदै यस्तो माग गरेको हो ।
महासंघका अध्यक्ष बिरबहादुर बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोध गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवामाथि सरकार स्वयंले निर्दयतापूर्वक गोली प्रहार गरी डेढ दर्जनभन्दा बढीको हत्या गरेको छ भने करिब ३५० बढी घाइते भएका छन् ।”
महासंघले सरकारले शान्तिपूर्ण आन्दोलनलाई संवाद र संयमका माध्यमबाट सम्बोधन गर्नुको सट्टा हत्या–दमनलाई प्राथमिकता दिएको भन्दै घटनाको घोर भर्त्सना गरेको छ । अध्यक्ष बुढाथोकीले भने, “अधिकांश विद्यार्थी देश बाहिर पलायन भइरहेको अवस्थामा स्वदेशमै रहेका युवामाथि सरकारले गरेको बर्बर दमन अस्वीकार्य छ । यस्तो कार्य गर्ने सरकारले तत्काल राजीनामा दिनुपर्छ ।”
यसैगरी महासंघका महासचिव चन्द्रबहादुर तामाङले हताहतप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले सरकारलाई सबै मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति दिन, उचित सद्गतिको व्यवस्था मिलाउन तथा घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न जोडदार माग गरे ।
