काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान स्थिर सरकारको भरपर्दो वातावरणमा भूमि समस्या समाधान आयोगलाई सबै भूमिहीनलाई लालपूर्जा दिलाई ऐतिहासिक उपलब्धि बनाउन निर्देशन दिनुभएको छ।
आयोगको वार्षिक समीक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीले आगामी दुई साताभित्र जिल्लास्थित आयोगलाई पूर्णता दिन निर्देशन दिँदै आयोगलाई काम नगर्ने वा असफल हुने स्थिति नआउन सर्तक रहन आग्रह गर्नुभयो।
“यो आयोग कामका लागि गठन भएको हो, न कि असफलताका लागि। भूमिहीन र अव्यवस्थित बसोबासीले जमिन पाउनुपर्छ,” उहाँले भन्नुभयो। उहाँले कानुन संशोधन वा सरकारको सहयोग आवश्यक भएमा तत्काल उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
प्रधानमन्त्री ओलीले आयोगको नेतृत्वलाई स्वार्थ समूहबाट प्रभाव नपर्नेगरी, पार्टीको नाम बदनाम हुन नदिने गरी जिम्मेवार तरिकाले काम गर्न आग्रह गर्नुभयो।
उहाँले थप्नुभयो, “स्थिर सरकार रहेको समयमा आयोगलाई काम गर्न कुनै बाधा आउन सक्दैन र आउन पनि दिइँदैन।”