प्रधानमन्त्रीको अभिव्यक्तिप्रति पेशागत महासंघ नेपालको आपत्ति

काठमाडौं। पेशागत महासंघ नेपालले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
महासङ्घले प्रधानमन्त्री सुशीला कार्कीले उच्चपदस्थ निजामती कर्मचारीले आफ्नो स्वार्थअनुरुप मात्रै काम गरे भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।

महासंघले त्यस्ता कर्मचारीलाई कारबाही गर्नुको सट्टा प्रधानमन्त्रीले बाहिर बोल्नु गलत भएको समेत टिप्पणी गरेको छ । महासङ्घले निजामती कर्मचारीको सहयोगमा नै फाल्गुण २१ गतेको निर्वाचन सफल भएकाले त्यो पनि स्मरण गर्नसमेत प्रधानमन्त्री र सरकारलाई अनुरोध गरेको छ । महासङ्घले अबको सरकारलाई जनताको मन जित्ने कानुन र नीति नियम बनाउन आग्रह पनि गरेको छ ।

महासङ्घले २६ वटा राष्ट्रियस्तरका घटक र प्रतिष्ठानस्तरका ५० भन्दा बढी संस्था आफूहरुसँग आबद्ध भएको र त्यहाँ ५ लाखभन्दा बढी जनशक्ति रहेको समेत स्मरण गराएको छ । महासंघले नयाँ बन्ने सरकारले भन्दै आएको ट्रेड युनियन खारेजीको विषयमा आपत्ति जनाएको छ ।

महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालद्वारा जारी विज्ञप्तीमा हिजोको दिनमा जस्तै ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य पूरा गर्ने काममा महासङ्घ र आफूहरुसम्बद्धले अझै बढी जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता जनाइएको छ ।

महासङ्घले हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा लगभग दुई तिहाई नजिकको जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । उसले जनताको मन जितेर काम गर्न पनि अब बन्ने नयाँ सरकारलाई आग्रह गरेको छ । महासंघले नयाँ बन्ने सरकारले भन्दै आएको ट्रेड युनियन खारेजीको विषयमा आपत्ति जनाएको छ ।

महासङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता अनुरुप चल्दै आएको ट्रेड युनियन खारेजीको विषय आउनु आफैंमा अस्वभाविक र आपत्तिजनक भएको भन्दै सचेत रहन सबैलाई आग्रहसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *