थियान्चिन, चीन। प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीयतालाई समयको अपरिहार्य आवश्यकता ठान्दै यसलाई सुदृढ र परिणाममुखी बनाउन शक्ति राष्ट्रहरूलाई आह्वान गरेका छन्।
सोमबार चीनको थियान्चिनमा आयोजित ‘साङ्घाई सहयोग संगठन (एससीओ) प्लस बैठक’मा सम्बोधन गर्दै ओलीले बहुपक्षीय प्रणालीले धेरै वाचा गर्ने तर कम उपलब्धि दिने प्रवृत्तिले विश्वास खस्किएको बताए।
उनले भने, “बहुपक्षीयता संकटमा छ। तर यसलाई त्याग्नु समाधान होइन, अझै प्रभावकारी र समावेशी बनाउनै पर्छ।” प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेर वैश्विक शासन प्रणालीलाई न्यायपूर्ण र दिगो बनाउन जोड दिए।
ओलीले चीनको ‘ग्लोबल गभर्नेन्स इनिसिएटिभ’ (जीजीआई) बहुपक्षीयतालाई मजबुत बनाउन सहयोगी हुने उल्लेख गर्दै एससीओलाई अझ एकताबद्ध, समन्वित र लचिलो बनाउनु आवश्यक रहेको बताए।
नेपाल २०१६ देखि एससीओको संवाद साझेदार रहँदै आएको र अब पूर्ण सदस्यता पाउने आकांक्षा राखेको उनले स्पष्ट पारे।
सम्बोधनमा ओलीले जलवायु परिवर्तन, आतंकवाद, साइबर आक्रमण, महामारी लगायत क्षेत्रीय र विश्वव्यापी चुनौतीहरूमा ध्यानाकर्षण गराउँदै साझा समस्याका समाधानका लागि सहकार्य अनिवार्य भएको बताए।
उनले अन्तमा जोड दिए, “विभाजनबाट एकतातर्फ, द्वन्द्वबाट परामर्शतर्फ र प्रतिस्पर्धाबाट सहकार्यतर्फको रुपान्तरण अपरिहार्य छ।”