पाल्पा । पुर्व मन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई वाम एकता भत्किँदाको मुख्य जिम्मेवार ठहर गर्दै तीव्र आलोचना गरेका छन्। तानसेनमा मंगलबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले ओलीलाई “धुन्दुकारी” शैलीमा चल्ने नेता भन्दै, उनको अहंकारले दुई–दुई पटक कम्युनिस्टहरूलाई टुक्रा-टुक्रा पारिदिएको आरोप लगाए।
नेता ज्वालाका अनुसार, देशकै ठूलो कम्युनिस्ट पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका बेला ओलीले झण्डै दुई तिहाइको संसद नै विघटन गर्ने प्रयास गरे, जसले नेपालका वामपन्थी शक्तिलाई इतिहासकै ठूलो संकटमा धकेल्यो। उनले भने, “ओलीको दम्भका कारण वाम आन्दोलन कमजोर बन्यो, प्रतिगामी तत्वहरू बढे , र राष्ट्रको स्वाधीनतामा समेत खतरा बढ्यो।”

यसपटक भएको नयाँ वाम एकताको सम्बन्धमा ज्वालाले १६ वाम घटक एकसाथ आएर सिंगो कम्युनिस्ट पार्टी निर्माण गर्नु देशको आवश्यकता र ऐतिहासिक जिम्मेवारी भएको बताए। उनले प्रचण्ड नेतृत्वको सरकार जनजीविकासँग जोडिएका मुद्दामा प्रारम्भदेखि नै सक्रिय रहेको दाबी गर्दै भने, “कांग्रेस–एमाले गठबन्धनका बेला मौलाएको कुशासन, भ्रष्टाचार र बेथिती अन्त्य गर्न नयाँ पुस्ताको मागलाई सरकारले संबोधन गर्दै आएको छ।”
ज्वालाले वामपन्थी कमजोर हुँदा राष्ट्रघातीहरू बलियो हुने इतिहास सम्झाउँदै सहकार्य र एकता नै वाम आन्दोलन तथा जनजीविकाको आन्दोलनको आधार भएको उल्लेख गरे। उनले थपे, “अब केपी ओलीको दम्भ अन्त्य गर्ने जिम्मा एमालेको आगामी महाधिवेशनकै काधमा छ। ओलीबिनाको एमाले बनेमा देशभरका वामपन्थी फेरि एक ठाउँमा गोलबन्द हुने वातावरण खुल्छ।”

एकता सभामा जिल्लाका सबै १० स्थानीय तहबाट झाँकी, र्याली तथा पञ्चेबाजासहित सक्रिय सहभागिता थियो।
