काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित परेडमा अमेरिकी सेनाको सहभागिताप्रति नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले गम्भीर प्रश्न उठाएको छ। पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल ले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सरोकारका विषयमा सरकारले बेवास्ता गर्न नहुने चेतावनी दिएका छन्।
विज्ञप्तिमा हाल देश अस्वाभाविक राजनीतिक परिस्थितिमा निर्वाचनको पूर्वसन्ध्यामा रहेको उल्लेख गर्दै यस्तो संवेदनशील समयमा विदेशी सेनाको परेड सहभागिताले जनस्तरमा चासो, चिन्ता र प्रश्न पैदा गरेको जनाइएको छ। “स्वयं नेपाली सेनाको तर्फबाट स्पष्टीकरण आएको भए पनि यस्ता विषयमा सरकारको स्पष्ट धारणा आवश्यक हुन्छ,” विज्ञप्तिमा भनिएको छ।
संयुक्तले वर्तमान सरकारलाई ‘चुनावी सरकार’को रूपमा उल्लेख गर्दै निर्वाचनमा निष्पक्षता प्रदर्शन गर्नु यसको संवैधानिक तथा नैतिक दायित्व भएको स्मरण गराएको छ। साथै, राष्ट्रिय महत्वका विषयमा राष्ट्रको चासोलाई बेवास्ता गर्ने छुट कसैलाई नभएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा पटक–पटक सत्तामा पुगेका दलहरूले विगतमा विदेश सम्बन्धलाई सत्ताको स्वार्थसँग जोडेको इतिहासको आत्ममूल्यांकन गर्नुपर्ने धारणा राखिएको छ। त्यसबाट शिक्षा लिएर सन्तुलित र जिम्मेवार दृष्टिकोण अवलम्बन गर्न आग्रह गरिएको छ।
त्यसैगरी, आफूलाई ‘नयाँ शक्ति’का रूपमा प्रस्तुत गर्ने दलहरूलाई पनि यस्ता गम्भीर भूराजनीतिक घटनामा मौन नबस्न र जनतासामु स्पष्ट धारणा सार्वजनिक गर्न संयुक्तले आह्वान गरेको छ।

