काठमाडौं। नेकपा (एकीकृत समाजवादी) भित्रको युवा संगठनमा देखिएको विवाद सतहमै आएको छ। पार्टीभित्र सहमति र एकताको सन्देश दिने दिनमै, युवा इन्चार्ज लक्ष्मण केसीले एकलौटी रूपमा जारी गरेको सर्कुलरप्रति सहसंयोजक सन्जीव राईले कडा आपत्ति जनाएका छन्।
केसीले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठनको नाममा सर्कुलर जारी गरेपछि, राईले त्यसलाई ‘कथित कार्यदल’, ‘कथित आयोजक कमिटी’ र ‘कथित इन्चार्ज’को नाममा गरिएको गलत कदम भन्दै संघका सम्पूर्ण सदस्यलाई भ्रममा नपर्न आह्वान गरेका छन्।
“अब असली युवा संघ नेपाल पुनर्गठन गर्दै समाजवादी आन्दोलनलाई सही दिशामा अघि बढाउनेछौं,” राईले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्।
राई पूर्वप्रधानमन्त्री झलनाथ खनाल निकट नेता हुन्, जबकि केसी पार्टी अध्यक्ष माधवकुमार नेपाल पक्षका मानिन्छन्। सोमबार मात्रै खनाल र नेपालबीच सार्वजनिक रूपमा एकअर्काविरुद्ध अभिव्यक्ति नदिने सहमति भए पनि, भोलिपल्टै केसीको एकलौटी सर्कुलरले सहमतिको मर्म तोडेको राई पक्षको आरोप छ।
पार्टीभित्रको यो घटनाक्रमले खनाल पक्षमा ‘युवा नेतृत्वमा समानान्तर संरचना बनाउने तयारी’को बहसलाई थप बल मिलेको छ।