अनेरास्ववियुकी सचिवको उम्मेदवार रेखाले यसरी मागिन् मत

काठमाडौं। काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको छ ।
पार्टी नेतृत्वले सर्वसम्मतको प्रयास गरे पनि सर्वसम्मत हुन नसकेपछि आज निर्वाचन हुने भएको हो । अनेरास्ववियुको केन्द्रीय सचिवमा रेखा न्यौपानेले उम्मेदवारी घोषणा गरेकी छिन् । लामो समयदेखि राजनीति गर्दै आएकी उनले अनेरास्ववियुलाई सवल, सक्षम र सबैको आशाको केन्द्र बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छिन् । ‘संगठनलाई राम्रो बनाउनका लागि मैले सचिवको ठाउँबाट भूमिका खेल्न सक्छु भन्ने हो’ उनले भनिन् ‘सबैको सल्लाहले नै म सचिवमा अघि बढेको हुँ ।’
उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ‘प्रिय प्रतिनिधिहरू, साथीहरू, अग्रज र शुभचिन्तकहरू, विप्लवले होइन, विचारले समाज परिवर्तन हुन्छ भन्ने अडान हो । संगठन, संघर्ष र समर्पणको यात्रामा म विगत लामो समयदेखि अनेरास्ववियुमा क्रियाशील छु । आन्दोलनको अग्रपंक्तिमा बसेर, संगठनका विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै मैले पार्टी र विद्यार्थी आन्दोलनप्रति निरन्तर योगदान दिँदै आएको छु । अनेरास्ववियुको २४ औं महाधिवेशनमा मैले सचिव पदमा आफ्नो उम्मेदवारी दर्ता गरेको छु । म तपाईँहरूको विश्वास र समर्थनका साथ अनेरास्ववियुलाई अझ सुदृढ, विचारशील र संगठनात्मक रूपमा सबल बनाउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । म तपाईंहरू सबै प्रतिनिधिहरूको अमूल्य मत र समर्थनको अपेक्षा गर्दछु । सचिव पदको जिम्मेवारी पाउँदा म विचार र संगठनलाई प्राथमिकतामा राखेर जिम्मेवारी पूरा गर्ने छु । तपाईको एक मतले विचारको लहरलाई सशक्त बनाउने छ र नेतृत्वमा स्पष्ट दिशा दिने छ ।’
उनले सबैसँग सहयोगको अपेक्षा गर्दै भनेकी छिन् ‘ हिजोको आन्दोलनमा म थिएँ, आज पनि छु । भोलिको नेतृत्व तपाईको साथमा हुने छ तर आज मत तपाईंले दिनुपर्ने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *