काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले समाजवाद घोषणा गर्न अब ढिला गर्न नहुने बताएका छन् ।
आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनले मुलुकमा समाजवाद घोषणा गर्ने समय भइसकेको बताएका हुन् ।
उनले समाजवादको बाटोमा हिँडे मात्रै समृद्ध बन्न सकिने जिकिर गरे । अरू बाटोबाट हिँडे मुलुक गरिब र नेताहरू त्यही गरिब जनतालाई ठग्ने भन्दा अरू नहुने उनको भनाइ छ ।
उनले भ्रष्टाचार नगरी नेता नबाच्ने, चुनाव नजित्ने र राज्यलाई धोका दिनै पर्छ भन्ने बाटोमा मुलुक रहेको बताउँदै त्यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
उनले नेपालमा केही कुराको अभाव नरहेको बताउँदै समाजवादको बाटोमा अगाडी बढ्ने काम गर्नुपर्ने बताए । उनले संविधानमा समाजवाद लेखिएपनि कार्यान्वयन नभएको भन्दै आपत्ति समेत जनाए ।