काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जातीय विभेद तथा छुवाछुत जन्य हिंसा अन्त्यको एकमात्र समधान समाजवाद मात्र भएको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै खनालले यस्तो बताउनुभएको हो ।
यस्तो छ खनालको शुभकामना सन्देश :
‘२०६३ साल जेठ २१ गतेका दिन सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो। यसैको सम्झनामा २०६८ सालदेखि जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’ मनाइन्छ।
ऐतिहासिक जनक्रान्ति २०६२–०६३ को सफलता पछिको प्रतिनिधि सभाले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको आज १९ वर्ष पूरा भएको छ । सार्वभौम संसदको यस ऐतिहासिक घोषणाको स्वामित्व लिदै मेरो नेतृत्वमा बनेको सरकारले जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय ऐन) २०६८ पारित गर्दै जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका रुपमा मनाउने गरेको छ । यस दिनको अबसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । साथै, यही घोषणाले नेपालको संविधानको प्रस्तावनामा नै सबै प्रकारका जातिय तथा सामाजिक भेदभावलाई अन्त्य गर्ने, दलितहरूलाई उनीहरूका हक अधिकारहरूले सुसजित गर्ने, समावेशी सिद्धान्तलाई पालना गर्ने, आर्थिक समानता स्थापना गर्ने, सामाजिक न्याय स्थापना गर्ने र समानुपातिक समावेशी सिद्धान्तका आधारमा समानतामुलक समाज निर्माण गर्ने संकल्प गरेको हो । तर पनि यसको व्यावहारिक कार्यन्वयन प्रभावकारी हुन नसक्दा दलित समुदायले आज पनि दैन्दिन विभेदका घटनाहरु भोगीरहेका छन् । छुवाछूतमुक्त राष्ट्र घोषणालाई सरकारले अझ दृढतापूर्बक कार्यान्वयन गर्न सकेको छैन । छुवाछुत मुक्त घोषणा गरि सकिएको अवस्थामा पनि छुवाछुत सम्बन्धि घटनाहरु घटिरहनु दुर्भाग्यपूर्ण हो ।
दलित समुदाय माथि हुने यस्ता सबै प्रकारका जातीय विभेद तथा छुवाछुत जन्य हिंसाको अन्त्यको एकमात्र समधान समाजवाद मात्र हो । समाजवादले मात्र शोषण, उत्पीडन, अन्य बिकार र बिकृतिहरुलाई अन्त्य गर्नसक्छ । त्यसैले “यात्रा समृद्धिको र लक्ष्य समाजवादको” भन्ने नारालाई दृढतापूर्वक लागु गदै देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिहरुले दलित समुदायहरुलाई समेत हर प्रकारले एकजुट बनाउदै समाजवादको सुन्दर भविष्य तिर दृढतापूर्वक अघि बढ्नु आजको आबश्यकता हो । व्यावहारिक रुपमा नेपाललाई सवै किसिमका विभेदबाट मुक्त गरी सभ्य र समतामुलक समाज निर्माण गर्न आजको दिनले आम नेपालीहरुलाई प्रेरणा मिलोस् म पुनः सबैलाई शुभकामना व्यक्त गर्दछु ।
