काठमाडौं। एकीकृत समाजवादीनिकट युवा संघ नेपालमा आन्तरिक विवाद चुलिँदै समानान्तर कमिटी घोषणा गर्ने तयारीसम्म पुगेको छ । पार्टी नेतृत्वको मनोमानी हस्तक्षेपप्रति असन्तुष्ट पक्ष आक्रोशित बनेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा संघमा मनोमानी गरिएको आरोप लगाउँदै नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल–निकट युवाहरू समानान्तर कमिटी बनाउन लागेका हुन् ।
असन्तुष्ट पक्षको आक्रोश
असन्तुष्ट पक्षधरको नेतृत्व गर्दै आएका सञ्जीव राईले पटक–पटक माग गर्दा पनि नेतृत्वले निर्णय सच्याउन तयार नभएको आरोप लगाएका छन् । उनीहरूले विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र माग सुनुवाइ नभए नयाँ कमिटी घोषणा गर्ने चेतावनी दिएका छन् ।
असन्तुष्ट पक्षले इन्चार्ज लक्ष्मण केसीलाई संगठनलाई कमजोर बनाएको भन्दै कडा आक्रोश व्यक्त गरेको छ । मनोमानी ढंगले नेतृत्व तोक्ने , कार्यदल गठन गर्ने र त्यसैको आधारमा कथित महाधिवेशन आयोजक कमिटी बनाउने , विधान विपरीत निर्णय गर्ने काम भएको उनीहरूले आरोप लगाएका छन् ।
यसरी निरन्तर मनोमानी हुँदा संघभित्र दीर्घकालीन रूपमा संघर्ष गरिरहेका युवा नेताहरू अपमानित र बहिष्कृत भएको असन्तुष्ट पक्षको दाबी छ ।
‘नयाँ कमिटी’को काउन्टडाउन
रोशन थापालाई संयोजक तोकेर गरिएको कमिटी विस्तार प्रति पनि राई पक्ष असन्तुष्ट बनेको छ । राईनिकट नेताहरूले २४ घण्टे अल्टिमेटमसहित पत्र बुझाउने तयारी गरेका छन् । माग सम्बोधन नभए आइतबारै नयाँ कमिटी घोषणा हुने चेतावनी दिएका छन् ।
युवा संघका पूर्व उपमहासचिव निर्भिक खनाल, सचिवहरू बाबुराजा श्रेष्ठ, अनिल बोगटी, जितबहादुर हमाल, खड्क आचार्य, भेषराज शाहलगायतले राईकै नेतृत्वमा समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेका छन् ।


