विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहंकारका कारण देशले पीडा भोगिरहेको बताएका छन् ।
शुक्रवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको सरकार सबै हिसाबले असफल भएको भएको बताउँदै भने,’एउटा व्यक्ति केपी ओलीको दम्भ, अहङ्कार, गलत नीति, गलत कामले गर्दाखेरि देश पूरै पीडित छ । यो पीडाबाट जबसम्म केपी ओलीलाई बिदा गरिँदैन, मुक्त हुने स्थिति बन्दैन ।’
केपी ओली र शेरबहादुर देउवा मिलेसम्म यो सरकार परिवर्तन नहुने उनको भनाइ छ । केपी ओलीका कारण एमालेमा पनि तमासा देखिएको उनले बताए ।
‘एमालेभित्र तमासा हेर्दै जानुस्, देशको कम्युनिस्ट आन्दोलनलाई निध्याएरै छोड्छन् केपी ओलीले,’ उनले भने, ‘राष्ट्रकै निम्ति ठूलो नोक्सान पुर्याउने स्थितिमा पुर्याउँछन् ।’
नेपालले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दालाई राजनीतिक प्रतिशोध मात्रै भएको बताए । आफू विरुद्धको मुद्दा कुनै भ्रष्टाचारसँग सम्बन्धित नभएको उनले दाबी गरे ।
उनले भने, ‘मेरो केस त कुनै भ्रष्टाचारको केसै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो, जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन । यो त राजनीतिक पूर्वाग्रह हो, त्यो प्रतिशोध हो भन्ने कुरा सबैले बुझेका छन्, मैले जिन्दगीमा एक पैसा पनि तलमाथि गरेको छैन।’
अध्यक्ष नेपालले नेकपा माओवादी केन्द्रसँग तत्काल पार्टी एकताका लागि कुनै छलफल नभएको बताए । उनले समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पार्टीबीचको सम्बन्धलाई विश्वासको जगमा बलियो बनाउने छलफल चलिरहेको बताए ।