काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशलाई नेपाली विशेषतासहितको समाजवादतर्फ उन्मुख गराउनु नै वर्तमान राजनीतिक र सामाजिक संकटको मुख्य समाधान भएको बताएका छन् ।
शनिबार वीरेन्द्रनगर ,सुर्खेतमा आयोजित नेकपाको ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै खनालले मुलुकको समग्र विकास, सामाजिक न्याय र समानताका लागि समाजवाद अपरिहार्य रहेको स्पष्ट पारे। उनले पुँजीवादका कारण भ्रष्टाचार मौलाएको उल्लेख गर्दै त्यसको अन्त्यका लागि सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

पूर्वप्रधानमन्त्री खनालले पछिल्ला दिनमा देशमा विदेशी हस्तक्षेप बढ्दै गएको र यसले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर प्रश्न खडा गरेको बताए। यस्तो अवस्थामा हरेक नागरिक र राजनीतिक शक्तिले राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताप्रति जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको स्वीकार गर्दै उनले सबै नागरिकले गाँस, बास, कपास र शिक्षामा सहज पहुँच पाउने नेपाल निर्माण गर्न समाजवाद नै एकमात्र विकल्प भएको जिकिर गरे।

सम्बोधनका क्रममा खनालले नेकपा एमालेलाई समेत एकता र समाजवादको बाटोमा आउन खुला आह्वान गरे। उनले एमालेको महाधिवेशनमा सहभागी नेता–कार्यकर्तातर्फ संकेत गर्दै भने, “एमाले महाधिवेशनमा रहेका साथीहरूलाई म भन्छु आउनुहोस्, एउटै बाटोमा अघि बढौँ। सबै कम्युनिस्टहरू एक शक्तिका रूपमा अघि बढ्नुपर्छ।”
