सिन्धुली । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सरकारले आगामी निर्वाचनलाई विश्वसनीय र प्रभावकारी बनाउन राजनीतिक दलहरूसँग गहन तथा निरन्तर संवाद गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
सोमबार बिहान सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आफूहरू निर्वाचनको पक्षमा रहे पनि सरकार र राजनीतिक दलहरूबीच पर्याप्त संवाद हुन नसकेको बताए। निर्वाचनका सन्दर्भमा स्पष्ट वातावरण निर्माण हुन नसक्दा अन्योलको अवस्था देखिएको उनको भनाइ थियो।
‘सरकारले निर्वाचनको वातावरण बनाएको छ भन्न पनि नमिल्ने र निर्वाचनको वातावरण बिथोलेको छ भन्न पनि नमिल्ने अवस्था छ,’ नेपालले भने, ‘यस्तो स्थितिमा संवाद नै सबैभन्दा जरुरी पक्ष हो।’
उनले आफ्नो दल चुनावको तयारीमा जुटिरहेको जानकारी दिँदै सरकार र दलहरूबीच आवश्यक तहको गहन वार्ता नभएको टिप्पणी गरे। राजनीतिक दलहरूको भूमिकामाथि उठाइएका प्रश्नप्रति संकेत गर्दै नेपालले जेनजी आन्दोलनपछि दलहरूको समर्थनमा जनता छैनन् भन्ने गलत भाष्य निर्माण गरिएको उल्लेख गरे।
तर पछिल्ला राजनीतिक दलका कार्यक्रमहरूले उक्त भाष्यलाई पुष्टि नगरेको उनको भनाइ छ। नेपाली जनता अझै पनि राजनीतिक आस्था र लोकतान्त्रिक प्रक्रियामै रहेको उनले बताए।
‘निर्वाचन सफल बनाउन र लोकतन्त्रलाई बलियो बनाउन सरकारले सबै राजनीतिक दलहरूसँग जिम्मेवार संवाद गर्नुपर्छ,’ उनले जोड दिए।
