युवामाथि हत्याकाण्ड मच्चाउने सरकारले सत्तामा बस्ने औचित्य गुमायो : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सामाजिक सञ्जाल प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध देशभर उत्रिएका युवामाथि सरकारले गरेको गोली दमनको कडा शब्दमा भर्त्सना गरेका छन्।

खनालले भने ‘१९ गते कुनै तयारीबिनै सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध लगाएपछि देशका विभिन्न स्थानमा विशेषगरी जेन–जी (Gen Z) पुस्ताका युवाहरू सडकमा उत्रिएका थिए । पहिलो दिनमै काठमाडौंको बानेश्वरसहित प्रमुख शहरहरूमा विशाल प्रदर्शन भए । तर, आन्दोलन नियन्त्रणका लागि शान्तिपूर्ण उपाय अवलम्बन गर्नुपर्ने ठाउँमा सरकारले सीधा गोली प्रहार गर्नु अत्यन्त दु:खद् घटना भएको छ ।’

खनालले भनेका छन्, सरकारको गोली दमनबाट हालसम्म डेढ दर्जनभन्दा बढी युवाको ज्यान गएको र करिब ३५० जना घाइते भएका छन । “यो सरकारको शान्तिपूर्ण प्रदर्शनमाथि भएको घोर दमनचक्र र हत्याको म कडा शब्दमा विरोध र भर्त्सना गर्दछु,”

खनालले मृतक युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन्। साथै, आन्दोलनकारीले अघि सारेका “भ्रष्टाचार अन्त्य गर” र “सामाजिक सञ्जाल प्रतिबन्ध खारेज गर” भन्ने दुवै मागहरू न्यायसंगत र जायज भएको उल्लेख गर्दै आफूले ती मागहरूको दृढ समर्थन गर्ने बताएका छन्।

खनालले २०६२/६३ को जनआन्दोलनपछिको यो सबैभन्दा क्रुर र नृशंस दमन भएको दाबी गर्दै वर्तमान सरकारले सत्तामा रहने नैतिक अधिकार गुमाइसकेको निष्कर्ष निकालेका छन् । उनले प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन माग गर्दै लोकतन्त्र, राष्ट्रियता, समाजवाद र समृद्धितर्फ मुलुकलाई अघि बढाउन सबै आन्दोलनरत युवा, जिम्मेवार शक्ति र नागरिक समाज मिलेर उपयुक्त विकल्प पहिल्याउन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *