भेनेजुएलामाथि भएको अमेरिकी सैन्य आक्रमण अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन : झलनाथ खनाल

काठमाडौं । पुर्व प्रधानमन्त्री एवम् नेकपा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले भेनेजुएलामाथि भएको अमेरिकी सैन्य आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन र घोर अपराधपूर्ण कार्यको संज्ञा दिँदै कडा शब्दमा निन्दा र भत्सना गरेका छन्।

खनालले जारी गरेको प्रेस विज्ञप्तिमा अमेरिकी ट्रम्प प्रशासनको डेल्टा फोर्सद्वारा भेनेजुएलामाथि गरिएको सैन्य कारबाहीलाई नाङ्गो, क्रुर र निर्लज्ज आक्रमण भएको उल्लेख गरेका छन्।

विज्ञप्तिअनुसार १५० लडाकु विमान प्रयोग गरी गरिएको उक्त आक्रमणमा कैयौँ निर्दोष नागरिक तथा सैनिकको ज्यान गएको, सैनिक संरचनाहरू ध्वस्त पारिएको र भेनेजुएलाका जननिर्वाचित तथा वैधानिक राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसलाई जबरजस्ती अपहरण गरी अमेरिका लगिएको बताइएको छ।

खनालले यस घटनालाई भेनेजुएलाको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रतामाथिको गम्भीर हमला भएको जनाउँदै यसले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनलाई खुलेआम चुनौती दिएको बताएका छन्।
उनका अनुसार “ड्रग ट्राफिकिङ” को झुटो बहानामा गरिएको यो आक्रमण वास्तवमा भेनेजुएलाको विशाल तेल भण्डारमाथि कब्जा जमाउने अमेरिकी स्वार्थद्वारा निर्देशित छ।

प्रेस विज्ञप्तिमा भनिएको छ कि भेनेजुएलाका जननिर्वाचित सरकार र राष्ट्रपति मदुरो अमेरिकी लुटतन्त्रका लागि मुख्य अवरोध बनेकाले त्यसलाई हटाउन यस्तो पासविक कदम चालिएको हो। खानालले यसलाई केवल प्रभुत्ववादी दादागिरी मात्र नभई अमेरिकी राज्यद्वारा सञ्चालित आतंकवादको स्पष्ट उदाहरण भनेका छन्।

झलनाथ खनालले भेनेजुएलाका जनताले साम्राज्यवादी आक्रमणविरुद्ध देखाएको प्रतिरोधप्रति ऐक्यबद्धता प्रकट गर्दै विश्वभरका न्यायप्रेमी देश, जनता तथा स्वयं अमेरिकी नागरिकसमेत यस आक्रमणको विरोधमा उभिनु सकारात्मक संकेत भएको उल्लेख गरेका छन्। उनले संयुक्त राष्ट्रसंघ, तेस्रो विश्वका मुलुकहरू र अन्तर्राष्ट्रिय समुदायलाई यस्तो हिंस्रक आक्रमणविरुद्ध कडा कानुनी कारबाही गर्न आह्वान गरेका छन्।

खानालले नेपाली कम्युनिष्ट पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट अमेरिकी आक्रमणको पुनः घोर निन्दा गर्दै राष्ट्रपति मदुरो र प्रथम महिलाको सकुशल रिहाइको माग गरेका छन्। साथै साना र कमजोर राष्ट्रहरूको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्दै विश्वबाट साम्राज्यवादी आक्रमणका सम्भावनाहरू सधैँका लागि अन्त्य गर्न एकताबद्ध संघर्ष आवश्यक रहेकोमा उनले जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *