काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार र सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक गरेका छन् ।
साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले रुकुम (पूर्व) को सदरमुकाम तोक्ने, मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने र विद्युत् प्रसारण लाइनका लागि १०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ ।
यस्तै, साउन १२ र १३ गते जापानको ओसाकामा आयोजना हुने ‘नेपाल दिवस’ मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा। रामप्रसाद घिमिरेलाई स्वीकृति प्रदान गरिएको छ । त्यसैगरी, मलेसियामा हुने नेपाल आदिवासी जनजाति महासंघको चौथो महाधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन कोशी प्रदेशका प्रदेशसभा सदस्य परशुराम खापुङलाई पठाउने निर्णय गरेको छ ।
