काठमाडौँ । नेकपा एकीकृत समाजवादीसम्बद्ध युवा सङ्घमा समानान्तर कमिटी बनेको छ । आइतबार झलनाथ खनाल पक्षीय युवाले सञ्जीव राईको संयोजकत्वमा २२१ सदस्यीय समानान्तर कमिटी घोषणा गरेका हुन् ।
उक्त घोषणा त्यही दिन गरिएको हो, जब अध्यक्ष माधवकुमार नेपाल पक्षले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको उपस्थितिमा नवौँ महाधिवेशन आयोजक कमिटीका पदाधिकारीलाई शपथ गराएका थिए ।
नेपाल पक्षको मनोमानीपूर्ण व्यवहारका कारण आफूहरू बाध्य भएर समानान्तर कमिटी घोषणा गरेको खनाल पक्षकी नेतृ रेखा लोप्चनले बताइन् । यसअघि साउन १७ मा घोषणा गरिएको रोशन थापा नेतृत्वको कमिटीलाई खनाल पक्षीय युवाले अस्वीकार गर्दै आएका थिए ।
राई संयोजकत्वको कमिटीमा झलनाथका छोरा निर्भिक खनाल चित्रकारसहित काभ्रेका भेषकुमार शाह, कालिकोटका अनिल बोगटी, गोरखाकी रेखा तामाङ लोप्चन, इलामका कुनाल राई, कैलालीका बाबुराजा श्रेष्ठ, जुम्लाका मनोज खत्री लगायत छन् ।
नवघोषित कमिटीलाई पार्टी पोलिटब्युरो सदस्य तथा सङ्घका पूर्वअध्यक्ष नरेश शाही, केन्द्रीय सदस्य सुशील भट्टराई र बाँके अध्यक्ष दीपक जिएमले समर्थन जनाएका छन् ।
विवादको जड
२०८० सालमै युवा र विद्यार्थी संगठनको नेतृत्वलाई लिएर विवाद सुरु भए पनि २०८१ असारको महाधिवेशनपछि नेपाल पक्ष बलियो बनेपछि खनाल पक्षीय नेताहरूलाई जिम्मेवारीबाट हटाइएपछि असन्तोष चर्किएको हो ।
यसअघि विद्यार्थी संगठन अनेरास्ववियूमापनि खनाल पक्षीय कार्यकर्ताले नरेश न्यौपानेको नेतृत्वमा समानान्तर कमिटी घोषणा गरिसकेका थिए ।









