काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारको प्रतिनिधिसभा विघटन कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै त्यसको तत्काल पुनःस्थापनाको माग गरेको छ। पार्टीले चेतावनी दिँदै भनिएको छ, जनादेशको अपमान गर्ने र संवैधानिक मूल्य तोड्ने निर्णय सह्य छैन।
आइतबार सम्पन्न सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सरकार चुनावको तयारीमा नभई निषेध, प्रतिशोध र मुठभेडको बाटोमा हिँडिरहेको आरोप लगाए। उनका अनुसार प्रतिनिधिसभा विघटन जनताको अधिकारमाथिको प्रत्यक्ष आघात हो, जसलाई बदर गरी संसद पुनःस्थापना गर्नु नै लोकतन्त्र र संविधानको रक्षा गर्ने एक मात्र बाटो हो।
‘असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको प्रतिनिधिसभा विघटन बदर हुनुपर्छ भन्ने हाम्रो स्पष्ट माग छ,’ ज्ञवालीले भने, ‘सरकार चुनावको विश्वसनीय तयारीमा छैन, अहिलेका गतिविधि चुनावोन्मुख होइनन्।’
बैठकले वर्तमान सरकारको कार्यशैली संविधानको भावना विपरीत रहेको निष्कर्ष निकालेको छ र लोकतान्त्रिक अभ्यास पुनःस्थापित गर्न सबै राजनीतिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ।
त्यस्तै, बैठकले नेकपा (एमाले) को ११औं महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ । महाधिवेशनको मिति र स्थान असोज २९ गतेदेखि सुरु हुने केन्द्रीकमिटी बैठकले निर्धारण गर्नेछ।