काठमाडौं । नेकपा एकीकृत समाजवादीले जेनजी पुस्ताको प्रदर्शनमाथि सरकारले कुनै पनि प्रकारको दमन नगर्न माग गरेको छ ।
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले आइतबार वक्तव्य जारी गर्दै प्रदर्शनकारीमाथि हिंसात्मक दमन तत्काल रोक्न सरकारसँग माग गरेका हुन् ।
वक्तव्यमा भनिएको छ, “हाम्रो पार्टी आन्दोलनमाथि सरकारले गरेको हिंसात्मक दमनको निन्दा तथा भर्त्सना गर्दछ । साथै, युवाहरूको भ्रष्टाचार तथा कुशासनविरुद्धको जागरणलाई सम्मान गर्दै उनीहरूको जायज माग सम्बोधन गर्न र उनीहरूलाई कुनै पनि दमनकारी गतिविधिबाट जोगाउन जोडदार माग गर्दछ।”
पार्टीले आन्दोलनकारीलाई पनि उत्तेजना वा मुठभेडतर्फ मोडिन नदिएर आन्दोलनको गरिमा कायम राख्न आह्वान गरेको छ । वक्तव्यमा भनिएको छ, “आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ मोडेर यस आन्दोलनको गरिमा र यसले पाएको जनसमर्थनलाई दुरुपयोग गर्ने कुनै पनि प्रयासबाट सतर्क रहन देशभरका आन्दोलनकारीहरुलाई आह्वान गर्दछ।”
