काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (एनसीपी) का नेता राजेन्द्रप्रसाद पाण्डेले आफ्नो पार्टी नेपाली समाजमा आमूल परिवर्तनको यात्रामा अघि बढ्ने बताएका छन् ।
आइतवार निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक सबै कागजात बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले १० वटा कम्युनिष्ट घटकहरूको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी नयाँ पुस्ताको आकांक्षा र जेन जेनरेसनका मागहरूसँग पूर्ण रूपमा ऐक्यबद्ध रहेको स्पष्ट पारे ।
“हामीले कार्तिक १९ गते नै दल दर्ताका लागि निवेदन दिएका थियौँ, अहिले सबै आवश्यक कागजातहरू पूर्णरूपमा बुझाएका छौँ,” पाण्डेले भने, “हाम्रो पार्टी भ्रष्टाचार, बेथिति र अन्यायका विरुद्ध उभिँदै नेपाली समाजको आमूल परिवर्तनको दिशामा अघि बढ्छ ।”
उनका अनुसार नयाँ पार्टीमा १० वटा कम्युनिष्ट घटकहरू सहभागी छन्, जसमा पाँच वटा दल पहिले नै निर्वाचन आयोगमा दर्ता भइसकेका थिए ।
पाण्डेले निर्वाचन आयोगलाई विधान, माइन्युट र घोषणा पत्रसहित सम्पूर्ण आवश्यक कागजातहरू व्यवस्थित रूपमा बुझाइसकेको बताए ।
गत कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका वाम घटकहरूबीच एकता घोषणा भएको थियो ।
नयाँ एकीकृत नेपाल कम्युनिष्ट पार्टी ले अब जेन जेनरेसनका आवाजलाई आफ्नो राजनीतिक एजेण्डाको केन्द्रमा राख्ने घोषणा गरेको छ ।
