सङ्गठित नभएसम्म जेनजी पुस्ताले परिवर्तन गर्न सक्दैन : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जेनजी नाम दिइएको पुस्ताले सङ्गठित नभईकन कुनै पनि परिवर्तन ल्याउन नसक्ने बताएका छन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कुनै पनि आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन सङ्गठित राजनीतिक शक्ति आवश्यक पर्ने र त्यसका लागि पार्टीको विकल्प नभएको बताएका हुन् ।

उनले पुस्ताको मुभमेन्टले मात्र केही हुन नसक्ने बताउँदै उनले नयाँ ढङ्गले सङ्गठित हुनुपर्ने बताए । उनले हालैका प्रदर्शनका क्रममा देखिएका युवाहरूको परीक्षण भइसकेको र व्यक्तिगत रूपमा गरिने प्रयासबाट केही हासिल नहुने देखिएको टिप्पणी गरे ।

खनालले यदि युवाहरू चुनावमा जान चाहन्छन् भने पार्टीको रूपमा आउनुपर्ने बताए । उनले भने, ‘अब चुनावमा जाने हो भने त पार्टीको रूपमा आउनुपर्‍यो । पार्टीबिना व्यक्तिगत रूपले गर्ने कुरा भनेको त हामीले देखिसक्यौँ, परीक्षा भइसक्यो तिनीहरूको पनि ।’ उनले युवाहरूलाई आफ्नो विचार मिल्ने वामपन्थी, दक्षिणपन्थी वा मध्यमार्गी कुनै पनि पार्टीमा सङ्गठित हुन वा संविधानले दिएको अधिकार प्रयोग गरी आफ्नै नयाँ पार्टी बनाउन सुझाव दिए ।

वर्तमान राजनीतिक परिस्थिति जटिल अवस्थामा रहेको बताउँदै उनले सबै पक्षले शान्ति सुरक्षा स्थापनाका लागि प्रयत्न गर्नुपर्ने बताए । उनले भने, ‘अहिले सबैले मुलुकमा शान्ति सुरक्षा स्थापना गर्नको लागि प्रयत्न गर्नुपर्छ। विगतमा लागेका घाउचोटहरू छन्, त्यसमा मलमपट्टी गर्ने, क्षतिपूर्ति गर्ने कुराहरू गर्नुपर्छ।’

उनले घोषित चुनाव सम्पन्न गर्नका लागि वातावरण बनाउनु सबैको कर्तव्य भएको बताए । सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी गर्न नसके चुनाव हुन नसक्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *