काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्दैछन् । एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणा हुन लागेको हो ।
सभालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल तथा अभियानका संयोजक गौतमले सम्बोधन गर्ने तय भएको एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए ।
एकतापछि बन्ने पार्टीमा बामदेव गौतमलाई अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरियता दिने सहमति भएको छ ।
एकतासम्बन्धी सहमति पत्रमा गत असार २७ गते नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका अध्यक्ष वामदेव गौतमले हस्ताक्षर गरेका थिए ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता सर्वोच्च अदालतको आदेशमा भंग भएपछि गौतमले २०७७ साल पुस २५ गते नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए ।