ओलीको ठोकुवा: एमाले–कांग्रेसबाहेक सरकार सम्भव छैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी नेतृत्व बाँडफाँट गर्ने चर्चा हाँस्यास्पद रहेको टिप्पणी गर्दै निर्वाचनपछि एमाले र नेपाली कांग्रेसबाहेक अन्य कुनै शक्तिले सरकार बनाउन नसक्ने दाबी गरेका छन्।

मंगलबार मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेकपा एमालेको ११औँ महाधिवेशनका सन्देश र राजनीतिक निकास’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचनअघि विभिन्न व्यक्तिहरूले प्रधानमन्त्री पद बाँडिरहेको हल्ला चले पनि अन्ततः सत्ता एमाले–कांग्रेसकै हातमा पुग्ने स्पष्ट पारे।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहप्रति लक्षित टिप्पणी गर्दै ओलीले प्रधानमन्त्रीको हल्लामा जोडिएका केही व्यक्तिहरूलाई ‘अलि बाठा होलान्’ भन्ने अनुमान गरे पनि पछिल्ला गतिविधि र निर्णयहरूले त्यो गलत सावित भएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन्द्र शाहबीचको सहमतिप्रति इङ्गित गर्दै उनले व्यङ्ग्य गरे, ‘पार्टी सभापति एउटालाई, उपसभापति अर्कोलाई, पार्टी अर्कैलाई जिम्मा लगाएर आफू प्रधानमन्त्री बन्ने? यो त अस्ती सिंहदरबारमा आगजनी भइरहँदा जसलाई भेट्यो उसैलाई प्रधानमन्त्री घोषणा गरेजस्तै हो।’

प्रधानमन्त्री पद कसले कसलाई बाँडिरहेको भन्ने चर्चा चले पनि यथार्थमा एमाले र कांग्रेसबाहेक अन्य दलसँग सरकार गठन गर्ने हैसियत नरहेको उनको दाबी थियो।

त्यसैगरी अध्यक्ष ओलीले असंवैधानिक रूपमा विघटन गरिएको संसद् तत्काल पुनर्स्थापना हुनुपर्नेमा जोड दिए। सरकार गठन, परिवर्तन र हटाउने वैधानिक थलो संसद् नै भएको उल्लेख गर्दै असंवैधानिक व्यक्तिबाट संसद् विघटन हुँदा संविधान नै सङ्कटमा परेको बताए।

संसद् पुनर्स्थापनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको स्मरण गराउँदै उनले फैसला ढिलो हुनु न्याय नदिनु सरह हुने टिप्पणी गरे।

‘एउटै मुद्दा वर्षौँसम्म बोकेर हिँड्न सकिँदैन,’ उनले भने, ‘ढिलो न्याय भनेको न्याय नदिनु हो। संसद् पुनर्स्थापना गरेर मात्रै वर्तमान राजनीतिक सङ्कटको समाधान सम्भव छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *