काठमाडौं । काठमाडौं महानगरपालिकाले उपभोक्तालाई ठग्ने, भ्रामक विज्ञापन गर्ने र गुणस्तरहीन वा नक्कली सामान बिक्री गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।
बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरले यस्ता क्रियाकलापमा संलग्न हुनेलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार बढीमा पाँच लाख रुपैयाँसम्म जरिवाना र दुई वर्षसम्म कैद सजाय हुने प्रावधानबारे सचेत गराएको हो।
महानगरका अनुसार जुत्ता, लत्ताकपडा लगायत दैनिक उपभोग्य वस्तुमा भ्रामक विज्ञापन, झुटो प्रचार र ब्रान्डको दुरुपयोग गरी उपभोक्तालाई ठग्ने गुनासो बढेसँगै यो कदम चालेको हो।
सूचनामा उत्पादनबारे उपभोक्तालाई गलत विवरण दिने, खाद्य तथा पेय पदार्थमा उत्पादन मिति, सामग्री र म्याद सकिने मिति स्पष्ट रूपमा उल्लेख नगर्ने, घरेलु उत्पादनलाई विदेशी भनेर बेच्ने, म्याद सकिएका वा स्वास्थ्यमा असर पार्ने वस्तु बिक्री गर्ने तथा अरूको ट्रेडमार्क वा ब्रान्ड नक्कल गर्ने जस्ता गतिविधि पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ।
त्यस्तै, झुटो विज्ञापनमार्फत उपभोक्तालाई भ्रममा पार्ने कार्यलाई ‘गलत ब्रान्डिङ र गलत लेबलिङ’ को संज्ञा दिँदै महानगरले यस्ता कार्य नगर्न/नगराउन व्यवसायीलाई आग्रह गरेको छ।
महानगरले यस्ता कार्यमा संलग्न व्यवसायीमाथि जरिवाना तिराउने, गलत उत्पादन नष्ट गर्ने, व्यवसाय बन्द गराउने र अनुमतिपत्र खारेज गर्नेसम्मको कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।
उपभोक्ता संरक्षण ऐनअनुसार, उपभोक्ता ठगिएको प्रमाणित भएमा बढीमा दुई लाख रुपैयाँसम्म जरिवाना, झुटो वा भ्रामक विवरण दिएर उपभोक्तालाई झुक्याउनेलाई एक लाख रुपैयाँसम्म जरिवाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
यस्तै, नक्कली सामान बिक्री गर्ने व्यवसायीलाई पाँच लाख रुपैयाँसम्म जरिवाना र दुई वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको महानगरले स्पष्ट पारेको छ।