काठमाडौं । जेनजी पुस्ताको विरोध प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीका कारण देशभर २२ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको बिमा दाबी पुगेको छ। नेपाल बिमा प्राधिकरणका अनुसार सबैभन्दा धेरै दाबी बागमती प्रदेशमा परेको छ, जहाँ मात्रै करिब १८ अर्बको दाबी दर्ता भएको छ।
प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका बेला सरकारी तथा निजी सम्पत्तिमा भएको क्षतिपछि माइक्रो इन्स्योरेन्ससहित १८ वटा बिमा कम्पनीमा कूल २ हजार ४७८ वटा दाबी आवेदन परेका छन्। बागमती प्रदेशमा मात्रै १ हजार ३४३ दाबी दर्ता भएको छ।
उपलब्ध विवरणअनुसार ओरियन्टल इन्स्योरेन्समा सबैभन्दा धेरै—करिब ५ अर्ब २३ करोड रुपैयाँ बराबरको दाबी परेको छ भने सिद्धार्थ इन्स्योरेन्समा ५ अर्ब ८ करोड बराबरको दाबी दर्ता भएको छ।
क्षतिको प्रकार हेर्दा ५३८ सम्पत्ति बिमा, १ हजार ७७८ मोटर बिमा, १३२ इञ्जिनियरिङ तथा ठेकेदार जोखिम, ११ परिवहन र १९ अन्य श्रेणीमा दाबी परेको प्राधिकरणले जनाएको छ। प्रदेशगत हिसाबले कोशीमा ३२२, मधेशमा २४६, गण्डकीमा १८४, लुम्बिनीमा २०२, कर्णालीमा २२ र सुदूरपश्चिममा १५९ वटा दाबी परेका छन्।
प्राधिकरणले ठूलो मात्रामा भौतिक क्षति भएकाले दाबीको रकम अझै बढ्न सक्ने अनुमान गरेको छ।