काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउने उद्देश्यले एकीकृत सुरक्षा योजना–२०८२ अनुसार बुधबारदेखि चारवटै सुरक्षा निकाय परिचालन हुने भएका छन् । निर्वाचनको एक महिना अघिदेखि नै नेपाली सेनाको संयोजनमा व्यापक सुरक्षा व्यवस्था लागू हुन लागेको हो ।
सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ । सोही योजनाअनुसार आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालित हुनेछन् ।
एकीकृत सुरक्षा योजनाअनुसार मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले सम्हाल्नेछन् भने दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बल नेपालले लिनेछ । बाहिरी सुरक्षा घेरामा नेपाली सेना परिचालित हुनेछ । सेनाले १६५ वटै निर्वाचन क्षेत्रमा बुधबारदेखि नै फौज परिचालन गर्ने जनाएको छ ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेनाबाट ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरिएको सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । उनका अनुसार एकीकृत सुरक्षा योजना–२०८२ राष्ट्रपति रामचन्द्र पौडेलबाट स्वीकृत भइसकेकाले सोही योजनाबमोजिम सेनाको परिचालन हुनेछ । आवश्यकताअनुसार सेनाको ‘वेस’ स्थापना गरिने र संयुक्त गस्तीसमेत सञ्चालन गरिनेछ ।
निर्वाचन सुरक्षाका क्रममा सेनाले तीन चरणमा जिम्मेवारी सम्हाल्नेछ । निर्वाचनपूर्व मतपत्र छपाइ, ढुवानी, मतदानस्थल र मतगणनास्थलको सुरक्षा, मतदानपछि मतपेटिका ढुवानी तथा संवेदनशील संरचनाको सुरक्षा सेनाको मुख्य दायित्व रहनेछ ।
यसका साथै विमानस्थल, कारागारलगायत महत्वपूर्ण स्थानको सुरक्षा पनि नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वयमा गर्नेछ ।
निर्वाचनका दिन नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षामा खटिनेछ । निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले माघ ४ गतेदेखि आचारसंहिता लागू गरिसकेको छ ।
आसन्न निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् । देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् । यस निर्वाचनका लागि कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् ।
नेपाल प्रहरीबाट ७७ हजार जनशक्ति परिचालन हुनेछन् भने थप एक लाख ३३ हजार निर्वाचन प्रहरी भर्ना गरिएको छ । सशस्त्र प्रहरी बल नेपालबाट ३४ हजार ५७६ जनशक्ति र १५ हजार ११० निर्वाचन प्रहरी गरी कूल ४९ हजार ६८६ जना परिचालित हुनेछन् ।
निर्वाचन क्षेत्रलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील रूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । दुई हजार ८४५ मतदानस्थल सामान्य, चार हजार ४४२ संवेदनशील र तीन हजार ६८० मतदानस्थल
अतिसंवेदनशीलको सूचीमा छन् । कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र सशस्त्र प्रहरी १० मिनेटभित्र घटनास्थलमा पुग्नेगरी तयारी अवस्थामा राखिएको जनाइएको छ ।
