जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको सहिद मार्गअन्तर्गत मनहरपुर–खरिहानी–सिमरारी १६ किलोमिटर सडक निर्माणको शुक्रबार शिलान्यास गर्नुभयो। उक्त सडक विश्व बैंक र मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको संयुक्त लगानीमा बन्नेछ।
जनकपुरधाम उपमहानगरपालिका–१७, ज्ञानचोक मनहरपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सडकको औपचारिक शिलान्यास गर्नुभयो। प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत बन्ने यस सडकको चौडाइ ग्रामीण बस्ती क्षेत्रमा ८ मिटर र बस्तीबाहिर १२ मिटर रहने प्रादेशिक आयोजना व्यवस्थापन इकाइका ईन्जिनियर सन्तोषकुमार यादवले जानकारी दिनुभयो।
सडकलाई आरसिसी र डिविएसटी दुवै प्रविधि प्रयोग गरी निर्माण गरिनेछ। बहुवर्षीय योजनाअन्तर्गत ६५ करोड बजेट विनियोजन भए पनि ४५ करोड ४८ लाखमा आशिष ओएसआरसी जेभी ललितपुरसँग ठेक्का सम्झौता भइसकेको यादवले बताउनुभयो। ठेक्का सम्झौता अनुसार दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
शिलान्यास कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल, पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, एमाले नेता सञ्जिव झा, उमाशंकर अरगरिया, रामसिंह यादव लगायतको उपस्थिति थियो।
प्रधानमन्त्री ओलीलाई स्थानीय जनप्रतिनिधि र बासिन्दाले फूलमालासहित स्वागत गरेका थिए। सो अवसरमा उहाँलाई विभिन्न व्यक्तिहरूको तर्फबाट सम्मानसमेत प्रदान गरिएको थियो।