काठमाडौं । तिब्बती धार्मिक गुरु दलाई लामाले नेपालकी अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएको अवसरमा सुशीला कार्कीलाई बधाई दिएका छन्।
शनिबार लामाको कार्यालयमार्फत सार्वजनिक सन्देशमा उनले नेपाली र तिब्बती जनताबीचको ऐतिहासिक घनिष्ठ सम्बन्धलाई स्मरण गर्दै शुभेच्छा व्यक्त गरेका छन्। उनले भनेका छन्, “सन् १९५९ पछि जब जबरजस्ती तिब्बत छोड्नुपर्यो, त्यसबेला नेपाल सरकारले र नेपाली जनताले तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि देखाएको उदारताप्रति म आभारी छु।”
दलाई लामाले नेपालमा बसोबास गर्ने तिब्बती समुदायले सानो भए पनि आर्थिक वृद्धिमा योगदान दिइरहेको विश्वास व्यक्त गरेका छन्। भारतीय समाचार संस्था एएनआईका अनुसार, उनले प्रधानमन्त्री कार्कीको कार्यकाल सफल हुने अपेक्षा व्यक्त गर्दै भनेका छन्, “यी चुनौतीपूर्ण समयहरूमा नेपाली जनताको आशा र आकांक्षाहरू पूरा गर्ने क्रममा तपाईं सफल हुनुहोस् भन्ने मेरो कामना छ। मेरा प्रार्थना र शुभेच्छा तपाईंसँगै छन्।”