काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आज शनिबार राजधानी काठमाडौंमा बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आयोजना गर्दैछ। पार्टीको आह्वानमा भृकुटीमण्डपमा हुन लागेको सभालाई सफल बनाउन बिहानैदेखि काठमाडौं उपत्यका तथा आसपासका जिल्लाबाट नेता–कार्यकर्ताहरू र्यालीसहित सहभागी हुनेछन्।
बिहान ११ बजेदेखि विभिन्न स्थानबाट र्यालीहरू सुरु भई भृकुटीमण्डपमा केन्द्रित हुने कार्यक्रम छ। पार्टीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार काठमाडौंको पश्चिम क्षेत्र, चितवन, धादिङ, मकवानपुर र ललितपुरका नेता–कार्यकर्ताहरू सुन्धाराबाट र्यालीसहित अघि बढ्नेछन्।
यस्तै, रत्नपार्कबाट तारकेश्वर र टोखा नगरपालिका तथा नुवाकोट र रसुवाबाट सहभागी हुने र्याली सुरु हुनेछ। बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी–मनोहरा, काठमाडौं क्षेत्र नम्बर ३, ४ र ५ का नेता–कार्यकर्ताहरू डिल्लीबजार (चारखाल) बाट र्यालीमा जुट्नेछन्।
काठमाडौं क्षेत्र नम्बर १ र २, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापका नेता–कार्यकर्ताहरूको र्याली भने बबरमहलबाट सुरु हुने पार्टीले जनाएको छ।
मध्यान्ह १२ बजेदेखि सुरु हुने एकता सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रम दुई घण्टाभित्रै सम्पन्न हुने बताइएको छ।
