भोजपुरे खुकुरीको अन्तर्राष्ट्रिय माग उच्च: दक्ष कालीगढको अभावले उत्पादन सङ्कटमा

भोजपुर। देश–विदेशमा ख्याति कमाएको परम्परागत ‘भोजपुरे खुकुरी’को माग वर्षेनी बढ्दै जाँदा पनि दक्ष कालीगढको चरम अभावका कारण उत्पादन संकट गहिरिँदै गएको छ । पुस्तान्तरण नहुँदा र संरक्षणको कमीले कालीगढ पेशा क्रमशः हराउँदै जानु यस संकटको मुख्य कारण बनेको व्यवसायीहरूको भनाइ छ ।

स्थानीय बजारदेखि बाहिरी जिल्ला र अन्तर्राष्ट्रिय बजारसम्म उच्च माग भए पनि मागअनुसारको खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीहरूले बताउँछन् । “पछिल्लो समय भोजपुरे खुकुरीको देश–विदेशबाट माग निकै आउँछ,” स्थानीय कालीगढ हर्कबहादुर विश्वकर्माले भन्नुभयो, “तर गाउँघरमा दक्ष जनशक्ति नहुँदा उत्पादनमा कमी आएको छ । बजारको माग धान्न मुस्किल छ । यो पेसालाई पुस्तान्तरणको अभाव देखिएको छ ।”

मुख्य गरेर भोजपुरे, सिरुपाते, चित्लाङ्गले, कोथीमोडा लगायतका खुकुरीको बजारमा बढी माग रहेको उहाँको भनाइ छ । आकारअनुसार यहाँ उत्पादन हुने खुकुरीको मूल्य न्यूनतम एक हजारदेखि अधिकतम २० हजार रुपैयाँसम्म पर्छ, व्यवसायी दिनेश गजमेरले जानकारी दिनुभयो । बाहिरका जिल्लाबाट दुई–चार सय खुकुरीको माग आउने भए पनि धेरै माग भए उत्पादन धान्न समस्या हुने उहाँले बताउनुभयो ।

विगतमा धेरै कालीगढ रहे पनि पछिल्ला वर्षहरूमा व्यावसायिक रूपमा यो काम गर्नेको संख्या घट्दै गएको छ । बढी मेहनत गर्नुपर्ने, आवश्यक कच्चा पदार्थको अभाव, र नयाँ पुस्तामा मोह कम हुँदै जानुले यो पेसा संकटमा परेको गजमेरको भनाइ छ ।

उच्च विदेशी रोजगारीको लहरका कारण गाउँघरमा सञ्चालित खुकुरी बनाउने आरन उद्योग बन्द हुन थालेका छन् । यसले खुकुरी उत्पादनसँगै खेतीपातीका लागि आवश्यक कृषि औजार र उपकरण बनाउने जनशक्ति पनि कमी हुन थालेको स्थानीयको अनुभव छ ।तस्बिर : रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *